नेपालमा तीन महिनामा २७ अर्बले बढ्यो व्यक्तिगत आवासीय कर्जा
2023-11-17 16:21:33cri
Share with:

चालु आर्थिक वर्षमा नेपालमा घर बनाउन बैंकबाट लिने ऋण (होम लोन) बढेको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले साउनदेखि असोजसम्ममा घर बनाउन बैंकबाट ऋण लिएको रकम बढेको देखाएको हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकबाट व्यक्तिगत आवासीय घर कर्जा करिब २७ अर्ब रुपैयाँले बढेको कारोबार अनलाइनले लेखेको छ।

गत आव असारसम्ममा तीन खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेको व्यक्तिगत आवासीय घर कर्जा असोजमा आइपुग्दा २६ अर्ब ७८ करोड रुपैयाँले बढेर तीन खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। यसले गत आवमा सुस्त रहेको घरजग्गा कारोबार र घर निर्माणको काम चालु आवदेखि क्रमशः बढ्न थालेको संकेत गरेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको साउनमा व्यक्तिगत आवासीय कर्जा तीन खर्ब ५९ अर्ब रुपैयाँ पुगेको थियो। यो असारको तुलनामा ११ अर्ब रुपैयाँ बढी हो। यस्तै भदौसम्ममा यस्तो कर्जा तीन खर्ब ६५ अर्ब रुपैयाँ थियो। साउनको तुलनामा यो कर्जा ६ अर्ब धेरै हो भने असारसँग तुलना गर्दा १७ अर्ब बढी हो। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमा पहिलो घर निर्माणका लागि दिइने आवास कर्जाको सीमा बढाएको थियो।

पहिलो घर बनाउन एक व्यक्तिले अधिकतम दुई करोड रूपैयाँ कर्जा पाउन सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको थियो। यसअघि यस्तो व्यवस्था एक करोड ५० लाख रुपैयाँमात्र थियो। तीन हजार वर्गफिटसम्मको घर निर्माण, खरिद वा अपार्टमेन्ट निर्माणका लागि यस्तो कर्जा पाउने व्यवस्था छ। चालु आवमा व्यक्तिगत आवासीय कर्जामात्र नभई रेसिडेन्सियल रियल स्टेट कर्जा प्रवाह पनि बढेको छ। चालु आवको सुरुवाती दुई महिनासम्म ऋणात्मक रहेको यस्तो कर्जा प्रवाह असोजमा दुई प्रतिशतले बढेको हो।

राष्ट्र बैंकका अनुसार, रियल स्टेट कर्जातर्फ रेसिडेन्सियल रियल स्टेट कर्जा दुई प्रतिशतले बढेको छ। गत असारसम्ममा ६५ अर्ब ५१ करोड रुपैयाँ रहेको यस्तो कर्जा असोजमा आउँदा ६६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। गत आवको असारको तुलनामा चालु आवको साउन र भदौ दुवै महिनामा यस्तो कर्जा प्रवाह घटेको थियो। चालू आवको भदौसम्ममा यस्तो कर्जा ६० अर्ब ९६ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

यस्तै चालु आवको साउनमा पनि यस्तो कर्जा घटेको थियो। साउनमा यस्तो कर्जा घटेर ५५ अर्ब १८ करोड रुपैयाँमात्रै प्रवाह भएको थियो। तर असोजमा भने यो कर्जा प्रवाह एक्कासि बढेको छ। आवास कर्जा सहज हुँदा मन्दीमा गएको निर्माण क्षेत्रमा समेत सुधार हुने र अर्थतन्त्र चलायमान हुने अपेक्षा रहेको बैंकर र व्यवसायीले बताएका छन्। आवास कर्जाले सिमेन्ट, डण्डी, रंगलगायतका उद्योगको गतिविधि बढ्ने सरोकारवालाले बताउँदै आएका छन्।

अर्कोतिर मजदुरले पनि काम पाउने छन्। पछिल्ला दिनमा बैंकमा लगानीयोग्य रकम (तरलता) सहज अवस्थामा रहँदा बैंकहरूले विभिन्न अफरसहित घर कर्जालाई प्राथमिकता दिइरहेका छन्। जसअनुसार, कर्जा प्रवाह बढ्दै गएको तथ्यांकले देखाएको हो। राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय बैंकहरूले कर्जा प्रवाहमा क्रमशः वृद्धि गर्दै गइरहेको देखाउँछ। चालु आवको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा २.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.३ प्रतिशतले मात्रै बढेको थियो। यो असोजमा मात्र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय बैंकको ब्याजदर क्रमिक रूपमा सहज हुँदै गएको र बैंकमा तरलता पनि सहज अवस्थामा रहेकाले कर्जा विस्तारमा सुधार हुँदै जाने अपेक्षा बैंकरहरूको छ।

नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले लगातार ब्याजदर बढाइरहेको अमेरिकाले पनि पछिल्लो पटक स्थिर राखेका कारण अन्तर्राष्ट्रिय बजारमा अब ब्याजदर बढ्दैन भने सन्देश दिएको बताए। उनका अनुसार नेपालमा पनि क्रमशः ब्याजदर घट्दै गइरहेको र अब कर्जा विस्तार सहज हुँदै जाने छ। यस्तै विस्तारै घरजग्गाको पनि कारोबार बढ्दै गएकाले घरजग्गा कर्जा झनै वृद्धि हुने र यसले अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न सहयोग गर्ने सरोकारवाला बताउँछन्।