१८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने
2023-11-18 16:49:04cri
Share with:

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै छ। यही मंसिर ५ देखि ९ गतेसम्म चल्ने सम्मेलनको तयारी पूरा भएको इफाप्का अध्यक्षसमेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो।

'दिगो पूर्वाधारमा साझेदारी' भन्ने नारासहित हुने इफाप्का सम्मेलनमा २ सय ४२ विदेशी प्रतिनिधिसहित ५ सयभन्दा बढीको सहभागिता रहने अध्यक्ष सिंहले जनाउनुभयो।

 

सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको महासंघले जनाएको छ । हाल समग्र विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६औं इफाप्का सम्मेलन महत्वपूर्ण हुने अध्यक्ष सिंहको भनाइ थियो। जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने उहाँले सुनाउनुभयो।

 

यसै सम्मेलनमार्फत गत वर्षअघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हालिरहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको कान्तिपुर अनलाइनले जनाएको छ।