कोभिडले बन्द नेपाल-चीन टिपताला नाका खुलाउन पहल
2023-11-18 16:46:29cri
Share with:

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउन सदन र सीमा दुवै क्षेत्रबाट पहल थालिएको छ। नाका खुलाउने बिषयमा सीमावर्ती फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधिको समन्वयमा स्थलगत रूपमै नाका पुगेर तिब्बती अधिकारीहरुसँग छलफल भईरहेको छ। यहाँबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सांसदहरूले आ–आफ्नै ढङ्गबाट पहल गरिरहेको नागरिकन्यूज डटकमले जनाएको छ।

 

नाका खुलाउन सदनमा उठाएका सवाल समेतले उचित स्थान नपाएपछि सीमा क्षेत्रमै पुगेर चीनको स्वशासित क्षेत्र तिब्बती अधिकारीसँग छलफल गर्ने क्रम सुरु भएको छ। फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेलेन वालुङको समन्वयमा नेपाल र तिब्बतका अधिकारीबिच छलफल भएको हो। टिपताला भञ्ज्याङमा नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गाम,फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा(विकास)लिम्बूसहितका राजनीतिक दलका जिम्मेवार प्रतिनिधि सहभागी थिए। तिब्बतका तर्फबाट डिङ्जी काउन्टी जिल्लाका डीएसपी दावा छिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ सहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी भएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो। कोरोना महामारीपछि बन्द भएको टिपताला नाका करिब चार वर्षयता बन्द छ। नाका बन्द हुँदा दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्प भएको छ ।

नाका बन्द कायम रहँदा फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोला र याङ्मा, वडा ६ लेलेपको फले र घुन्साका बासिन्दा बढी प्रभावित बनेका छन् ।