नेपालमा तीन लाख एक हजार परिवारसँग छैन शौचालय
2023-11-19 15:46:44cri
Share with:

आज १९ नोभेम्बर अर्थात् विश्व शौचालय दिवस। नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ।

यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ। हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमकासाथ शौचालय दिवस मनाउने गरिएको छ। सन् २०१३ देखि यो दिवस मनाउन थालिएको गोरखापत्र अनलाइनले लेखेको छ।

बढ्दो शहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौति बढेर गएको छ। मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ। दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ। तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्‍याउनमा प्रगति भने सुस्त गतिमा छ। यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो।

राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन्। खुला दिसापिसावका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ। सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी छ। नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा गरेको थियो।

विसं. २०७८ को जनगणनाअनुसार नेपालमा शौचालय प्रयोग गर्ने परिवारमा ९.८ प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) को प्रयोग गर्ने गर्दछन्। यो परिवार सङ्ख्या ६ लाख ५३ हजार ७१० रहेको छ। फ्लस (सेफ्टिक ट्याङ्की) भएको शौचालय प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा बढी ५५.१ प्रतिशत रहेको छ। अर्थात् यो सङ्ख्या ३६ लाख ६७ हजार ७८० हो।

त्यस्तै साधारण शौचालयको प्रयोग गर्नेको सङ्ख्या २० लाख पाँच हजार ४८० रहेको छ। यो प्रतिशतमा हेर्दा ३०.१ रहेको छ। त्यस्तै सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०.५ रहेको छ। यो सङ्ख्या ३२ हजार ३८१ हो। यसैगरी, शौचालय नहुनेको सङ्ख्या नेपालमा ४.५ प्रतिशत अर्थात् तीन लाख एक हजार ४९० रहेको छ।