गौतमबुद्ध विमानस्थल हेरेर होटलमा २० अर्ब लगानी
2023-11-19 15:45:43cri
Share with:

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि सो विमानस्थल आसपासमा धमाधम होटलहरु खुल्न थालेका छन्। विमानस्थल निर्माणका लागि २०७१ साल माघमा शिलान्यास भएको अर्को वर्ष २०७२ मा रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा एसआर होटल निर्माण सुरु भयो। यो होटलको निर्माण सुरु हुँदा तिलोत्तमा क्षेत्रमा एउटा बाहेक अरु पर्यटकीय स्तरका होटल थिएनन्।

‘मणिग्राममा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मात्र थियो। त्यस बाहेक तिलोत्तमामा स्तरीय होटल थिएनन्,’ एसआर होटलका महाप्रबन्धक केशव पौडेल सम्झिनुहुन्छ। निर्माण सम्पन्न भएर २०७५ बाट एसआर होटल सञ्चालनमा आएको छ। योसँगै बुटवल–भैरहवा ६ लेन सडक आसपास थुप्रै स्तरीय होटल खुलेको महाप्रबन्धक पौडेलले बताउनु भएको कारोबार अनलाइनले लेखेको छ। ‘तिलोत्तमा नगर क्षेत्रको ६ लेन सडक आसपास ३० बढी कोठा भएका पर्यटकीय स्तरका डेढ दर्जन होटल छन्,’ उहाँले भन्नुभयो, ‘त्यसबाहेक थुप्रै स्तरीय रेष्टुरेन्ट, कटेज र थोरै कोठाका होटल खुलेका छन्।’ पौडेलका अनुसार भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि यो क्षेत्रमा धेरै पर्यटक आउँछन् भन्ने आशामा थुपै व्यवसायीले होटलमा लगानी गरेका थिए।

‘बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र फैलिँदै गरेको बजारको अवस्थालाई हेरेर होटल खोल्ने निर्णय गरेका हौं,’ एसआरका महाप्रबन्धक पौडेलले भन्नुभयो, ‘हामीलाई होटल बाहेक अरु पेशा अंगाल्न नपर्ला, त्यसैले किनारा लगाउँछ भन्ने आशा थियो। तर अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा निराश छौं।’ होटल एसोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल रानाले मणिग्रामको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा पूर्वाधार थपेर चार तारेमा स्तरोन्नति गर्नुभयो। अहिले बुटवलमा दुई तारे ड्रिम इन्टरनेशनल होटल सञ्चालनमा ल्याएका छन्। तर, पर्यटक अभावमा व्यवसाय धरासायी हुने अवस्थामा पुगेको उहाँको गुनासो छ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशामा तिलोत्तमासँगै बुटवल, भैरहवा र लुम्बिनीमा पनि थुप्रै स्तरीय होटल थपिए। त्यसबाहेक सैनामैना नगरपालिका, लुम्बिनी नजिकका शुद्धोधन र सियारी गाउँपालिकामा पनि स्तरीय होटल र कटेजहरु निर्माण भएका छन्। हानका केन्द्रीय सदस्य राना अन्तर्राष्ट्रिय विमानस्थलको आशामा निजी क्षेत्रबाट करिब २० अर्ब लगानी भएको बताउनुहुन्छ। ‘होटल व्यवसायको योजना बनाएर जग्गा खरिद र पूर्वाधार निर्माण समेत गरेर निजी क्षेत्रबाट २० अर्ब लगानी भइसक्यो,’ उहाँले भन्नुभयो, ‘बुद्ध जन्मस्थल लुम्बिनीसँग कनेक्टीभिटी हुने गरी अन्तर्राष्ट्रिय उडान हुने आशामा व्यवसाय चल्छ भन्ने भयो। सरकारले त्यतिका खर्च गरेर बनाएको योजनामा सबैको विश्वास थियो।’

अहिले रुपन्देहीमा एउटा पाँच तारे होटल टाइगर प्यालेस छ। तिलोत्तमाको कोटीहवामा रहेको टाइगर प्यालेसमा नयाँ व्यवस्थापन आएको छ। तर, अझै पूर्ण क्षमतामा चलेको छैन। तिलोत्तमाकै सिद्धार्थ विलासा, लुम्बिनीको होटल पवन प्यालेस पनि पाँच तारे स्तरका हुन्। तर, मान्यता पाइसकेका भने छैनन्। अन्य थुप्रै तारे स्तरका होटल सञ्चालनमा आएका छन्। कतिपय निर्माण हुने क्रममा छन्। सन् २०१६ सम्म लुम्बिनीमा ४५ वटा जतिमात्र होटल थिए। कोभिड अगाडि ३ वर्षको बीचमा ४० होटल थपिए। यही अवधिमा काठमाडौं, पोखरा लगायतका व्यवसायीले लुम्बिनीमा जग्गा पनि जोडे। तर, कोभिड सुरु भएपछि होटल बनाएनन्। होटल संघ लुम्बिनीका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठका अनुसार कोभिड सुरु नभएको भए ती सबै जग्गामा अहिले ५० वटा जति होटल बनेका हुने थिए। ‘तीन–चार वर्षको अवधिमा ४५ बाट ८५ होटल पुगे। कोभिड नभएको भए अझै ५० जति थपिन सक्थ्यो,’ उहाँले भन्नुभयो, ‘जग्गा किने पनि उनीहरुले होटल खोल्न पाएनन्।

कोभिडको प्रभाव र आर्थिक मन्दीका कारण केही होटल पनि बन्द भए। ८५ मध्ये १५ वटा बन्द छन् भने ७० सञ्चालनमा छन्।’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र लुम्बिनीमा पर्यटकीय चहलपहल बढ्ने आशामा बाहिरका व्यवसायीहरुले पनि जग्गा किनेका थिए। विमानस्थल निर्माण हुने र बुटवलमा प्रदेशको राजधानीसमेत बनेपछि यहाँका थुप्रै व्यवसायी आशावादी बनेका थिए। आशा र उत्साहका कारण लगानी गरेका व्यवसायी अहिले निराश भएको होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपाल बताउनुहुन्छ। ‘आशा र उत्साहका कारण ऋण खोजेर व्यवसायीहरुले लगानी गरेका थिए। ऋणधन गरेर पूर्वाधार बनाएका थिए। अहिले सबै विचलित छन्,’ उहाँले भन्नुभयो, ‘आर्थिक मन्दीको असर त देशव्यापी छ। तर, रुपन्देहीमा त्यतिको लगानीमा बनेको एयरपोर्ट व्यवस्थित रुपमा सञ्चालन हुन नसक्नु सबैभन्दा दुर्भाग्य हो।’

२०७९ जेठ २ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो। उद्घाटनसँगै कुवेतको जजिरा एयरवेजले उडान पनि सुरु गरेको थियो। पछिल्लो केही महिनादेखि जजिराले भैरहवाबाट उडान रोकेको छ। अहिले साताको एक दिन नेपाल वायुसेवा निगमले मलेशिया–भैरहवा–काठमाडौं उडान गरिरहेको छ। योबाहेक अरु अन्तर्राष्ट्रिय उडान भएको छैन। उद्घाटन भएको डेढ वर्षसम्म पनि विमानस्थल सञ्चालनमा नआउँदा व्यवसायी निराश छन्। विमानस्थल चलायमान नहुने हो भने धेरै व्यवसायी विस्थापित हुने अवस्था आउने होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालको भनाइ छ। ‘जुन विमानस्थललाई हेरेर व्यवसायीले लगानी गरेका थिए, त्यही नचलेपछि विमानस्थल चलाउनुपर्ने माग राखेर व्यवसायी आन्दोलनमा उत्रन बाध्य भएका छन्,’ उहाँले भन्नुभयो।