केरुङ रेलमार्गमा नुवाकोटतर्फ सर्भे सकियो, रसुवामा सुरु
2023-11-20 15:28:03cri
Share with:

चिनियाँ प्राविधिक टोलीले काठमाडौं–केरुङ रेलमार्गअन्तर्गत नुवाकोट खण्डको सर्भे सकेको छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुस तेस्रो साता नेपाल आएको टोलीले करिब एक वर्ष लगाएर नुवाकोटतर्फको सर्भेको काम सकेको हो । रसुवा, नुवाकोट र काठमाडौं जिल्लामा रेलमार्ग पर्ने भएकाले टोलीले अहिले रसुवामा सर्भेको काम थालेको छ । ड्रोनमार्फत फोटो र भिडियो लिएर सर्भेको काम भइरहेको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताउनुभयो।

उहाँका अनुसार काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमाथि हवाई रुट पर्ने भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर ड्रोनमार्फत अध्ययनको काम हुनेछ । ‘आकाशमा ड्रोन र जहाज एकै चोटि उड्दा सिग्नल प्रणालीमा समस्या आउने देखियो,’ उहाँले भन्नुभयो, ‘त्यसैले प्राधिकरणसँग आवश्यक समन्वय गरेर मात्र ड्रोन उडाउँछौं ।’

यसको अध्ययनको काम ४२ महिनाभित्र सकिसक्नुपर्नेछ । अध्ययन थालेको एक वर्ष हुन लाग्यो । अहिलेसम्म एक जिल्लामा मात्र अध्ययन सकिएको हो । ‘केही केही स्थानमा सर्भेका लागि सहमति लिन समय लागेकाले ढिलाइ भएको हो,’ महानिर्देशक बिसुरालले भन्नुभयो, ‘अहिले समस्या छैन । तोकिएकै समयभित्र सर्भे सकिन्छ ।’ सुरुमा चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक टोली सर्भेका लागि आएका थिए ।

अहिले फिल्डमा त्यही कम्पनीका प्राविधिकले ड्रोन सर्भेको काम गरिरहेका छन् । त्यसका लागि रेल विभागका प्राविधिक, कर्मचारी र स्थानीय जनप्रतिनिधिले सहयोग गरेका कान्तिपुर अनलाइनले लेखेको छ।

बर्खाअघि ४३ जना प्राविधिक टोलीले काम सर्भेको काम गरेका थिए । आवश्यकताका आधारमा प्राविधिक थपघट भइरहनेछन्। ‘यो सम्भाव्यता अध्ययन हो, यसबाट निर्माणमा कति लागत लाग्छ, समय कति लाग्छ, निर्माणमा के के समस्या आउन सक्छन्, रेलमार्गको कुल दूरी कति हुन्छ थाहा हुने छ,’ उहाँको भनाइ छ।

सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कतिवटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्ने हो, त्यो पनि थाहा हुनेछ। यसमा छुट्टै विस्तृत सर्भे नगरिने र निर्माणका क्रममा विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पारेर काम गरिने उहाँको भनाइ छ ।  

सर्भे गर्न आएको टोलीले कसरी अध्ययन गरेको छ र के कति अध्ययन भयो भनेर अनुगमन गर्न चीनबाट तिहारअघि ३ जनाको प्राविधिक टोली नेपाल आएको छ । चीन सरकारले पठाएको उक्त टोलीले फिल्डमै पुगेर अनुगमन गरिरहेको छ । ०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । ०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो ।

प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्नेछ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा थालेको हो । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । रेलसम्बन्धी बैठकमा भाग लिन यही साताभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा चीन जाने योजना छ।

नियमति बैठक भएकाले त्यसमा भाग लिन शर्मा त्यसतर्फ जान लागेकाले काठमाडौं–केरुङ रेलमार्ग छलफलको विषय बन्ने जनाइएको छ ।