पर्यटनमा उत्साह थपिंदै, पर्यटकसँगै बढ्यो आम्दानी
2023-11-21 16:05:04cri
Share with:

गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु २४ सै घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङले बताउनुभयो।

अन्नपूर्ण क्षेत्र पनि यतिबेला चलायमान बनेको छ । त्यस क्षेत्रमा कात्तिकयता २४ हजार पर्यटक पुगेका छन् । पर्यटकको सङ्ख्या अत्यधिक हुँदा लामो समयपछि पदमार्गमा आश्रित पर्यटन व्यवसायीको व्यस्तता पनि बढेको छ । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा. रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोजपछि कात्तिकमा सबैभन्दा बढी पर्यटक ‘एक्याप’ पुगेका छन् ।

दसैं र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरुको सङ्ख्या पछिल्लो समय बढ्न थालेको छ । कुनै समय अधिक मात्रामा विदेशी पर्यटकहरु ‘ब्यागप्याक’ बोकेर हिमाल हेर्न पुग्ने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ । तिहार लगत्तै पर्यटकीय नगरी पोखरा पनि पर्यटकले भरिएको छ । काठमाडौँ–पोखरा रुटमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।

बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत मुलुकबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेकाले कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्रमा उत्साह थपिएको जानकारहरु बताउँछन् । नेपालको पर्यटन क्षेत्रबारे पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा हुन थालेको, विशिष्ट पाहुनाको नेपाल भ्रमण, अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनले पनि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ ।

तनहुँको मानुङकोट र बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्दा त्यस क्षेत्रको आर्थिक गतिविधि बढेको छ भने यसले व्यवसायीको सक्रियता पनि बढाएको छ । मानुङकोटमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक पुगेका छन् भने बन्दीपुरमा पछिल्लो समय २६ वटा देशका पर्यटक भित्रिँदा होटल भरिभराउ भएका छन् ।

उसो त यो याम नेपालको पर्यटन क्षेत्रका लागि अनुकुल मानिन्छ । दसैँ, तिहार र छठ पर्वको माहोलले पर्यटकीय गतिविधि पनि बढाएको छ । यसबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीको बुझाइ छ ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समग्ररुपमा पर्यटन क्षेत्र उत्साहजनक रहेको बताउनुभयो। ‘पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । पर्यटक आगमनको आँकडा पनि उत्साहवर्द्धक छ, योभन्दा धेरै पर्यटकलाई सेवा दिन पूर्वाधार तयार भइसकेको छ’, उहाँले भन्नुभयो।

पछिल्लो समय होटलका रुमको सङ्ख्या बढेका छन्। तारे होटल, केबलकारलगायतका पूर्वाधारमा खर्बौं लगानी भएका छन् । यद्यपि पर्यटन क्षेत्रमा भएको लगानीको तुलनामा पर्यटकीय गतिविधि कम भएको अध्यक्ष शाहको भनाइ छ। पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणभएका छन् भने चिनियाँ र भारतीय पर्यटक बढाउन नीतिगत र योजनागत कार्यक्रम आवश्यक भएको अध्यक्ष शाहको भनाइ छ।