यिऊमा नेपालीको जमघट, ‘स्थानीय तहको विकासमा नमुना बन्न सक्छ यिऊ’
2023-11-21 16:03:05cri
Share with:

चीनको यिऊ सहर भ्रमणमा पुगेका नेपालीले चाडबाड मनाउन नपाए पनि संघसंस्थाको वार्षिकोत्सव, सभा, सम्मेलनका साथै मेलामा सहभागिता जनाएर मनाएका छन्। नेपालका विभिन्न स्थानीय तहबाट नवौँ युनाइटेड सिटिज एन्ड लोकल गभरमेन्ट्स एसिया प्यासिफिक (यूसीएलजी एएसपीएसी) २०२३ सम्मेलनमा आएका जनप्रतिनिधिले यतै चाडपर्व मनाएका हुन्।

सम्मेलनका लागि महानगर, उपनगर तथा नगरपालिका र गाउँपालिकाका गरी ३२ जनाको टोली चीन आएको थियो। सोही समयमा विभिन्न मेला तथा प्रदर्शनी पनि यिऊमा जारी थियो। त्यहाँ नेपाली व्यापारीले आफ्ना स्टल राखेका थिए भने नेपालको पेभेलियन ‘नेपाल मण्डप’ स्थापना गरिएको थियो।

नेपाली टोलीको स्वागतार्थ आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स चीनका लागि पूर्वी क्षेत्रीय प्रतिनिधि राजकुमार खड्काले चीनमा बसोबास गर्दै आइरहेका नेपाली देशको विकास गर्न सदासर्वदा लागिपरेको बताउनुभयो। आफूहरू देश विकासका लागि स्थानीय तहसँग काम गर्न इच्छुक रहेको उहाँको भनाइ छ।

नेपालको स्थानीय तहका जनप्रतिनिधिहरूले यिऊका नेपालीबाट न्यानो स्वागत पाएको बताउँदै यिऊको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका थिए।

गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले गाउँको विकासका लागि यिऊबाट सिकेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई नेपालको औद्योगिक र व्यापारिक केन्द्रका रूपमा विकास गर्न यिऊले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने औँल्याउनुभयो। उहाँले यिऊको अन्तर्राष्ट्रिय यातायात सञ्जालको प्रशंसा गरेको हिमालप्रेसले लेखेको छ।

कागेश्वरी नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले आफ्नो सहरलाई पनि नमुना बनाउन अघि सर्ने बताउनुभएको थियो।

यूसीएलजी एएसपीएसीका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जू श्रेष्ठले यूसीएलजी एएसपीएसी महत्त्वपूर्ण प्लेटफर्म भएकाले स्थानीय तहको विकासमा सहकार्य गर्दै यसले समयसापेक्ष विकासको लहरमा लम्कन साथ दिने बताउनुभयो।

नेपाल चीन उद्योग वाणिज्य संघ यिऊ कार्यालय आयोजक रहेको उक्त कार्यक्रममा सभापति विष्णुप्रसाद दुमरूले विश्वकै ठूलो होलसेल बजार सहर यिऊको परिचय दिँदै त्यहाँ नेपालीको २५ वर्ष लामो इतिहासको चर्चा गर्नुभयो। उहाँले यिऊको विकास मोडेल नेपाललाई उपयुक्त हुने बताउनुभयो। साथै उहाँले नेपालका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना तथा नेपालको समग्र विकासमा निरन्तर सेवा गर्ने बाचा गर्नुभयो।

यिऊ भ्रमणमा रहेका नेपाली टोलीले यिऊमा जारी चाइना यिऊ इम्पोर्टेड कमोडिटिज फेयर, चच्याङ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सहरको आदानप्रदान प्रदर्शनी तथा यूसीएलजी एएसपीएसी प्रदर्शनीस्थलको अवलोकनसँगसँगै चिनियाँ बजारमा नेपाली वस्तुको सम्भाव्यता अध्ययन गरेको थियो।

यसैबीच नेपाल चीन उद्योग वाणिज्य संघ यिऊ शाखा कार्यालयले लक्ष्मीपूजाका दिन तेस्रो वार्षिकोत्सव मनाएको छ। चीन उद्योग वाणिज्य संघ यिऊ शाखा कार्यालयको उद्घाटन चीनका लागि तत्कालीन राजदूत महेन्द्रबहादुर पाण्डेले सन् २०२० नोभेम्बर १२ मा गरेका थिए। वार्षिकोत्सव समारोहमा नेपाली प्रनिधिमण्डल, नेपाली व्यापारी र यिऊ सहरमा बस्दै आएका नेपालीको उल्लेख्य उपस्थिति थियो।