कोपमा नेपालका ३ प्राथमिकता : क्षतिपूर्ति, हिमालको संकट र वित्तीय पहुँच
2023-11-22 16:06:32cri
Share with:

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गत १२ देखि १५ कात्तिकसम्म गरेको चार दिने नेपाल भ्रमणका क्रममा उठेका एजेन्डालाई यसपटक कोप–२८ सम्मेलनमा बलियो गरी उठाउन विज्ञहरुले सरकारलाई सुझाव दिनुभएको थियो।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२८ को तयारी गर्न नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट परेको असर बुझ्नका लागि महासचिव गुटेरेसले १२ देखि १५ कात्तिकसम्म नेपाल भ्रमण गर्नुभएको थियो।

सगरमाथा र अन्नपूर्ण आधार शिविरको स्थलगत भ्रमण गरेर स्थानीयसँग अन्तर्क्रिया समेत गरेका गुटेरेसले नेपालजस्ता हिमाली क्षेत्र भएका मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेका संकट समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो।

जलवायु परिवर्तनको मुख्य कारक भनिएको कार्बन उत्सर्जनमा नेपाल र नेपालजस्ता मुलुकको सबभन्दा कम भूमिका रहे पनि यसको सबभन्दा बढी असर यिनै अल्पविकसित मुलुकहरूले भोग्नु परिरहेको छ। यस विषयमा लामो समयदेखि चर्चा चलिरहेको भए पनि जलवायु सम्मेलनमा अघिपछि पनि त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।

विशेष गरी मुख्य कार्बन उत्सर्जक ठूला धनी राष्ट्रहरूले यी विषयमा चासो नदिँदा छलफल भए पनि क्षतिपूर्तिका लागि कोष निर्माण र परिचालन हुन सकेको छैन।

जलवायु परिवर्तनको संकट चुलिरहेको अवस्थामा अल्वविकसित मुलुकहरू (एलडीसी) को अध्यक्षता गरिरहेको नेपालले आगामी १४ देखि २६ मंसिरसम्म दुबईमा हुने कोप –२८ मा यी मुद्दालाई याचना भन्दा अधिकारका रूपमा प्रस्तुत गर्ने प्रधानमन्त्रीको भनाइ छ।

अनलाइनखबरका अनुसार कोप २८ मा प्रधानमन्त्री प्रचण्डले नेपालका तर्फबाट १६ मंसिरमा सम्बोधन गर्ने कार्यक्रम छ।