चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात
2023-11-22 16:07:17cri
Share with:

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । गएका साउन, भदौ, असोज र कात्तिकमा उक्त परिमाणको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।साउनमा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, असोजमा ४ अर्ब ४ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँको बिजुली भारतीय बजारमा बिक्री भएको प्राधिकरणले जनाएको छ ।

विद्युत् निर्यातले नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुग्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही समयअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई विद्युत् बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्ये पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्रतिस्पर्धी बजारमा मात्रै बिजुली बेचेको नेपालले भदौमा मध्यकालीन सम्झौतामा समेत अनुमति पाएपछि प्रतिस्पर्धी र मध्यकालीन बजारमा समेत बिजुली बिक्रीको बाटो खुलेको कान्तिपुर अनलाइन लेख्दछ।