पोखरा विमानस्थलमा चौथो चार्टर उडान हुँदै, माउन्टेन क्रस कन्ट्री प्रतियोगितामा भाग लिन खेलाडी र प्राविधिकसहित १०४ जना चिनियाँ नेपाल जाने
2023-11-22 16:05:11cri
Share with:

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७ मंसिरमा चीनबाट चार्टर उडान हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’ भन्ने नारासहित ‘वार हाउस नेपाल, पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता’मा भाग लिन खेलाडी, प्राविधिक र पाहुनाहरू विमान चार्टर गरेर चीनबाट सीधै पोखरा आउन लागेका हुन् । चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्समार्फत बिहीबार दिउँसो सवा ३ बजे एक सय चारजनाको टोली पोखरामा अवतरण गर्ने विमानस्थलकी प्रवक्ता यसोदा सुवेदीले जानकारी दिनुभयो।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा होटेल संघ पोखरा र चीनको युनान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोर्टस् एसोसिएसन सहआयोजनासँगै नेपाल भूतपूर्व खेलाडी मञ्च र युनान प्रदेश खेलकुद ब्युरोको प्राविधिक सहयोगमा ९ मंसिरमा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा सहभागी हुन ७४ जना खेलाडी, १९ जना प्राविधिक र ११ जना भिआइपी पाहुना चीनबाट आउने नेपाल–चीनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो।

१७ पुस ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागुनमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि योग्य भएको छ। विमानस्थलमा १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको नयाँ पत्रिका अनलाइनले खबर लेखेको छ।

गत ६ असारमा चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सले चीनको छङ्तु विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरको थियो । ८ र ९ असारमा पोखराको फेवातालमा सम्पन्न नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन विमान चार्टर्ड गरी खेलाडीसँगै ७२ जना चिनियाँ गरी ९६ जना पोखरा आएका थिए ।

त्यसपछि विमानस्थल सञ्चालनमा आएको आठ महिना सात दिन अर्थात् २३ भदौमा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा चार्टर उडानमार्फत पोखरामा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो। पारोबाट चालकदलका सात र तीन पर्यटकसहित १० जना पोखरा आएका थिए । पोखरा आएको सो विमानले पोखराबाट ४२ यात्रु र चालकदलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडेको थियो ।

यसैगरी, २२ कात्तिकमा चिनियाँ जनमुक्ति सेनाका दुई काग्रो विमानले चीनको छेन्दु विमानस्थलबाट पोखरा अवतरण गरेका थिए । जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पका कारण प्रभावितहरूको सहयोगका लागि चीनको तर्फबाट राहत सामग्री लिएर दुई विमान पोखरा आएका थिए।