चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र रुसी संसदको तल्लो सदन डुमाका अध्यक्ष भोलोदिन बीच भेटवार्ता
2023-11-22 19:42:25cri
Share with:

नोभेम्बर २२ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा रुसी संसदको तल्लो सदन डुमाका अध्यक्ष भयाचेस्लाभ भिक्टोरोभिच भोलोदिनबीच पैचिङमा भेटवार्ता भएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सी चिनफिङले चीन र रुसबीच व्यापक साझा हित रहेको उल्लेख गर्नुभयो। आगामी वर्ष चीन र रुसबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सव मनाइने र दुई देशको विकास तथा पुनरूत्थानमा नयाँ जीवन्त शक्ति प्रदान गर्न र विश्व समृद्धि तथा थप स्थिरता प्रदान गर्न चीन रूससँगै मिलेर काम गर्न तत्पर भएको कुरा पनि सीले जनाउनुभयो।

विधायिकाले पारस्परिक सम्बन्धको विकासमा खेल्ने भूमिकाबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभयो, ‘दुई देशका विधायिकाहरूले द्विपक्षीय सहयोगका लागि थप पूर्ण कानुनी समर्थन प्रदान गर्न, बेल्ट एण्ड रोड अवधारणा र युरेशियन इकोनोमिक युनियनबीचको तालमेल सुनिश्चित गर्न, शाङहाई सहयोग संगठन, ब्रिक्स मुलुकहरू तथा जी २० जस्ता बहुपक्षीय मञ्चहरूमा सम्पर्क र सहयोगलाई प्रगाढ बनाउनको लागि आफ्नो भूमिकालाई पूर्ण रूपमा खेल्ने आशा पनि चीनले लिएको छ।’

भेटवार्तामा ड्युमाका अध्यक्ष भोलोदिनले चीनसँगको सम्बन्धको विकासबारे जानकारी दिँदै रूसी संसद डुमाका विभिन्न पक्षहरूमा चीनसँगको मैत्रीपूर्ण सम्बन्धको विकासलाई समर्थन गर्नेबारेमा उच्चस्तरिय सहमति रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘रूस एक चीन नीतिको दृढतापूर्वक पालना गर्दछ र चीनसँग दुई देशका विधायिका र पार्टीबीचको आदानप्रदान र सहयोगलाई सुदृढ गर्न, दुई देशका राष्ट्रनायकहरूबीच हासिल महत्वपूर्ण सहमतिको सक्रिय कार्यान्वयन गर्न, जनस्तरको मित्रता र पारस्परिक विश्वासलाई प्रगाढ बनाउन, नयाँ युगमा रूस-चीन व्यापक रणनीतिक साझेदारी सम्बन्धको दिगो विकासका लागि बलियो कानूनी प्रत्याभूति दिन तथा द्विपक्षीय सम्बन्धको विकासमा योगदान गर्न रूस तयार छ।’