चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उरुग्वेका राष्ट्रपति लाकालेबीच भेटवार्ता
2023-11-22 18:39:49cri
Share with:

नोभेम्बर २२ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको राजकीय भ्रमणमा रहनुभएका उरुग्वेका राष्ट्रपति लुइस अल्बर्टो लाकाले पौसँग जन बृहत सभाभवनमा भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२३ चीन–उरूग्वे सम्बन्धको इतिहासमा विशेष वर्ष भएको बताउँदै यो वर्ष दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ३५ औँ वार्षिकोत्सव र बेल्ट एण्ड रोड अवधारणामा उरुग्वेको प्रवेश भएको पाँचौँ वार्षिकोत्सव भएको चर्चा गर्नुभयो।

कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै सीले अगाडि भन्नुभयो, ‘दौत्य सम्बन्ध स्थापना भएयताका ३५ वर्षमा दुई देशको फरक-फरक राष्ट्रिय अवस्था बावजुद, चीन र उरूग्वे सधैँ पारस्परिक सम्मान, समान व्यवहार र जीत-जीत सहकार्यमा अडिग रहँदै आएका छन् र विभिन्न क्षेत्रमा भएका आदानप्रदान र सहयोग पनि विस्तार हुँदै आएको छ।’

राष्ट्राध्यक्ष सीले कोरोना महामारीको सामना गर्दै, दुई देशले एक अर्कालाई मद्दत गरी महामारीसँग लड्न सहकार्य गरेको बताउनुभयो। उहाँले चीन र उरूग्वे बीचको रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ स्तरमा पुर्याइएको भन्दै अहिले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनु नै दुई देशका विभिन्न क्षेत्रको साझा सहमति बनेको उल्लेख गर्नुभयो।

‘राष्ट्रपतिसँग चीन र उरूग्वे बीच व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको घोषणा गर्न पाउँदा म हर्षित छु’, सीले भन्नुभयो, ‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन र चीन उरूग्वे सम्बन्धलाई फरक आर्थिक आकार, राष्ट्रिय अवस्था र संस्कृति भएका २ देशहरूबीच ऐक्यबद्धता र सहयोगको नमूनाका रूपमा निर्माण गर्न म तपाईंहरूसँग काम गर्न तयार छु।’