चीनबाट ४० थान विद्युतीय बस किनेको नेपालको साझा यातायातले ७ वटा चार्जिङ स्टेशन बनाउँदै
2023-11-23 16:10:38cri
Share with:

साझा यातायातले विद्युतीय बसका लागि ७ वटा चार्जिङ स्टेशन बनाउन सुरु गरेको छ। विद्युतीय बस भित्रिएको लामो समय बितिसक्दा पनि चार्जिङ स्टेशन बनाउन सकेको थिएन। त्यसैले, साझा यातायातले पुल्चोकमै ७ वटा चार्जिङ स्टेशन बनाउने कार्य अगाडि बढाएको हो।

साझा यातायात सञ्चालक समिति मेन्द्र पाण्डेले पुल्चोकमा चार्जिङ स्टेशन बनाउने कार्य तीब्र रुपमा अगाडि बढाएको बताउनुभयो। उहाँका अनुसार विद्युतीय बस सञ्चालनलाई सहज बनाउनका लागि साझाले आफ्नै जग्गामा ७ वटा चार्जिङ स्टेशन बनाउन सुरु गरेको हो। ‘अहिले चार्जिङ स्टेशन बनाउने कार्यलाई अगाडि बढाएको छ । साझाले आगामी दुई/तीन महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ,’ उहाँले भन्नुभयो।

साझा यातायातले गत वर्ष नै ४० थान विद्युतीय बस नेपाल भित्र्याएको थियो। साझाले चीनको सीएचटीसी कम्पनीसँग विद्युतीय बस खरिद गरी नेपाल भित्र्याएको थियो। उक्त संख्यामा बस भित्रिएपनि चार्जिङ स्टेशनको अभावका कारण आधा मात्रै सञ्चालन भइरहेका छन्।

नेपाल भित्रिएको बस चार्जिङ स्टेशनको अभावका कारण सञ्चालन हुन नसकेपछि साझाले स्टेशन बनाउने कार्यलाई जोड दिएको उहाँको भनाइ छ। हाल नेपाल विद्युत प्राधिकरण र साझा यातायात पुल्चोकमा रहेका ३ वटा तथा प्रधिकरणका अन्य स्थानका चार्जरबाट २० बस चार्ज गरी सञ्चालन गरिरहेका छन्।

साझाले बस खरिद गर्दा नै चार्जिङ स्टेशन बनाउनका लागि ४० विद्युतीय बस खरिद गर्दा नै लागत समावेश गरेको थियो । त्यसमा बसससहित आवश्यक २० वटा चार्जिङ स्टेशनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ लगानी भएको साझाले जनाएको छ ।

‘चार्जिङ स्टेशनका लागि छुट्टै लागत कति हो भन्ने यकिन छैन,’ उहाँले भन्नुभयो, ‘साझाले बस ल्याउँदा नै सिएचटिसी कम्पनीले बससँगै आवश्यक चार्जरहरू पठाएको थियो। सोही चार्जरहरु बनाउनका लागि पुल्चोकको आफ्नै बिल्डिङमा स्टेशन बनाउने भएको हो।’

उक्त स्टेशन बनाएसँगै साझाको विद्युतीय बस सञ्चालनमा समस्या नआउने अपेक्षा गरेको छ। क्लिकमाण्डु अनलाइनका अनुसार अहिले चार्जिङ स्टेशनकै कारण थन्किएका बसहरु स्टेशन निर्माण भएपछि पूर्णरुपमा सञ्चालन हुने कम्पनीको दाबी छ।

स्टेशन निर्माणको तयारी भएको ७ वटा चार्जरबाट एकैपटक १७ वटा बसहरु चार्ज गर्न सक्नेछन् । त्यसैगरी, साझाले भित्र्याइएको बसको मर्मत सम्भार पाँच वर्षसम्म सीएचटीसी कम्पनीसँग सम्झौता गरेको छ।