कात्तिकमा सबैभन्दा कम श्रमस्वीकृति
2023-11-23 16:13:15cri
Share with:

चालु आर्थिक वर्षको चार महिनामध्ये कात्तिकमा सबैभन्दा थोरै युवाले रोजगारीका लागि विदेश जान श्रमस्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिकमा ४३ हजार ६२२ युवाले श्रमस्वीकृति लिएका हुन् ।

गत वर्षको कात्तिकमा यो संख्या ७८ हजार ३७० थियो । कात्तिकमा विदेश जाने करिब आधा भए पनि चालु आर्थिक वर्षका चार महिनालाई हेर्दा धेरै कमी आएको छैन। गत वर्षका ४ महिना (साउनदेखि कात्तिक) सँग यो वर्षको सोही अवधिलाई तुलना गर्दा विदेश जाने ८.८७ प्रतिशतले मात्र घटेका छन् ।

विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या २ लाख ३३ हजार पुगेको छ । गत आर्थिक वर्षको कात्तिकसम्म श्रमस्वीकृति लिनेको संख्या २ लाख ५५ हजार ६७९ थियो । वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर प्रतिक कडरियाले चालु आवको कात्तिकमा श्रमस्वीकृति लिनेको संख्या कम रहेको जानकारी दिनुभयो।

गत आर्थिक वर्षको पहिलो ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको संख्या लगभग ८ प्रतिशतले घटेर २ लाख ३३ हजारमा सीमित भएको छ । पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा संकुचन आएपछि रोजगारीका लागि जानेको संख्या घटेको हो ।

वैदेशिक रोजगारीको इतिहासमा गत आर्थिक वर्षको भदौ महिनामा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रमस्वीकृति लिएका कारोबार अनलाइनले जनाएको छ।

यो संख्या वैदेशिक रोजगारको तथ्यांक राख्न सुरु गरेयता २९ वर्षकै उच्च हो । तर, यो संख्या चालु आवमा भने औषत ५८ हजारमा सीमित भएको छ ।

वैदेशिक रोजगार विभाग ताहचल कार्यालयले यो वर्षको साउन, भदौ र असोजको तुलनामा कात्तिकमा श्रमस्वीकृति लिनेको संख्या अझ घटेको जनाएको छ । मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको शुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा धक्का लागेको हो ।

गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको भए पनि हाल मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेको असर नेपाललाई पनि परेको छ । गत वर्ष साउदी अरबमा रहेका श्रमिक पनि विभिन्न कारण देखाउँदै नेपाल फर्किएर पुनः मलेसिया जाने प्रवृत्ति देखिएका कारण संख्या वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७८–०७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको शुरुको महिनाबाट घट्न थालेको छ । कोरोनाकालको लकडाउन यता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत २ वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम भएको थियो ।