बेइजिङमा नेपाली र चिनियाँले दौडे, बेइजिङ-पोखरा मैत्री दौड
2023-11-26 15:47:29CRI
Share with:

नेपाली तथा चिनियाँ शुभेच्छुकहरुको सहभागितामा शनिबार बेइजिङमा ‘बेइजिङ-पोखरा फ्रेन्डसिप ग्रीन बी वाक’ नामक पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ। नेपालस्थित चिनियाँ दूतावास र पोखरा नगरपालिकाले संयुक्त रुपमा पोखरामा आयोजना गरेको ‘पोखरा नेपाल माउण्टेन क्रस कन्ट्री दौड’ कार्यक्रमको मेसो पारेर बेइजिङमा पनि सोही दिन र सोही समयमा यस्तो कार्यक्रमको आयोजना गरिएको हो। 

बादशाह कुबलाई खानको पालामा चीन आएका नेपाली कलाकार अरनिकोले सन् १२७९ मा निर्माण गरेको म्याओयिङ श्वेतचैत्यबाट दौड र पदयात्रा मिश्रित नेपाली र चिनियाँहरूको समूह ३ दशमलव २ किलोमिटर टाढा पेइहाइ पार्कस्थित योङआन श्वेतचैत्यमा पुगेर टुंगिएको थियो। 

कार्यक्रमस्थलमा भेला भएका चिनियाँ तथा नेपाली संचारमाध्यमसँग कुराकानी गर्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले दुई देशका लागि यो एउटा महत्वपूर्ण दिन भएको बताउनुभयो। पोखरा र बेइजिङमा एकै दिनमा दुई देशका नागरिकले उही इभेन्टमा सँगैसँगै भाग लिइरहेको उहाँले बताउनुभयो। ‘बेइजिङ र पोखरामा एकैसाथ भएको यो इभेन्टले नेपाली र चिनियाँबीच गहिरो सम्पर्क रहेको पुष्टि गर्दछ’, राजदूत श्रेष्ठले भन्नुभयो, अन्तर्राष्ट्रिय समाजमा पनि नेपाल र चीनबीच प्रगाढ सम्बन्ध रहेको झल्किन्छ।’ 

सिल्क रोड सिटीज एलायन्स (एसआरसीए) समेतको कार्यक्रम आयोजनामा संलग्नता रहेको इभेन्ट शुरुवातका लागि नेपालका लागि चिनियाँ राजदूत छन सुङ पोखरामा र राजदूत श्रेष्ठ बेइजिङस्थित श्वेतचैत्यमा उपस्थित हुनुहुन्थ्यो। 

अरनिको निर्मित ह्वाइट प्यागोडाले बेइजिङको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो स्तुपा शैलीको प्यागोडाको विशेषता बोकेको छ। चिनियाँ इतिहासमा सबैभन्दा अग्लो र बृहत् संरचनाको उपाधि पनि यसैले बोकेको छ। 

नेपाली र चिनियाँ झण्डा बोकेका सहभागीहरूमध्ये कोही दौडिएका थिए भने कसैले पदयात्रा गरेर पैहाइस्थित योङआन श्वेत चैत्य प्राङ्गण टेकेका थिए। राजदूत श्रेष्ठका अनुसार चीनको खुनमिङ र पोखराबीच भगिनी सहर सम्बन्ध स्थापित भएकाले यसको मुख्य उद्देश्य खेलकुद र इको-टुरिज्मका लागि प्रोत्साहन गर्दै आपसी सद्भाव, भ्रातृत्व र प्रेमको सन्देश छर्नु हो। 

बेइजिङमा जम्मा ५ वटा श्वेतचैत्य रहेकोमा सीछङ जिल्लामा दुईटा श्वेतचैत्य अवस्थित छन्। सन् १६५१ मा निर्माण गरिएको पैहाई पार्कको छियोङह्वा टापुस्थित श्वेतचैत्य शान्तिको एक सुन्दर अवतार मानिन्छ। प्रख्यात चिनियाँ लेखिका लाओ श (१८९९-१९६६) का अनुसार चिनियाँ राजधानीको सबैभन्दा प्रतिष्ठित सांस्कृतिक स्थलचिन्हहरू मध्ये एकको रूपमा यस श्वेतचैत्यको प्रतिष्ठा निकै उँचो छ।

कार्यक्रममा बेइजिङस्थित दूतावासका कर्मचारीका साथै यहाँ कार्यरत र अध्ययनरत नेपालीहरूको सहभागिता थियो भने नेपाल चीन मित्रतामा चासो राख्ने दर्जनौं चिनियाँ शुभेच्छुकहरूले भाग लिएका थिए। 

(लक्ष्मी लम्साल, बेइजिङ)