पोखरालाई पर्यटकीय राजधानी बनाउने तयारी
2023-11-29 17:25:25cri
Share with:

नेपालकै ठूलो महानगर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीका लागि गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ। गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बुँदा समेटेको गोरखापत्र अनलाइनले लेखेको छ।

सोही बुँदा कार्यान्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो। समिति सरोकारवाला विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञसहित ११ सदस्यीय छ। 

पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास र घोषणा गर्न विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिको कार्यक्षेत्र र कार्यअवधि तोकिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्न संक्षिप्त अवधारणापत्रसमेत तयार गरिसकेको छ। सोही अवधारणापत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति बनाइएको हो। 

पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्वि गर्ने नीति कार्यान्वयन गर्न अध्ययन समिति गठन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ।

पर्यटकीय राजधानीका रुपमा विकास गर्न आवश्यक पूर्वाधार पहिचान गर्ने, राजधानी घोषणा गर्नका लागि आवश्यक मापदण्ड पहिचान गर्ने, राजधानी घोषणा गर्ने प्रक्रिया पहिचान गर्ने, संघ सरकारसँग समन्वय गर्ने, अध्ययन प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने समितिको कार्यक्षेत्र छ। 

समितिका सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश (उद्योग तथा पर्यटन) रहने छन्। पोखरा महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष, नेपाल पर्यटन बोर्डका प्रमुख, पोखरा पर्यटन परिषद्का अध्यक्ष, पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, पर्यटन प्रहरी कास्कीका प्रमुख र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष सदस्य हुनुहुन्छ। समितिमा पर्यटन विज्ञका रुपमा डा रामजी शर्मा र वासुदेवी त्रिपाठी हुनुहुन्छ।