चार महिनामा दुई अर्बको अलैँची निर्यात
2023-11-29 17:22:31cri
Share with:

चालु आर्थिक वर्षको चार महिनामा दुई अर्ब रुपियाँभन्दा बढीको १७ लाख किलो अलैँची निर्यात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म दुई अर्ब १५ करोड ६० लाख ९४ हजार रुपियाँ बराबरको १७ लाख ३७ हजार ११० किलो अलैँची निर्यात भएको गोरखापत्र अनलाइनले लेखेको छ। गत वर्ष सो अवधिमा एक अर्ब ९६ करोड २५ लाख ९३ हजार रुपियाँ बराबरको २४ लाख ४१ हजार १९९ किलो निर्यात भएको थियो। गत वर्षको चार महिनाको तुलनामा चालु आवको चार महिनामा अलैँची निर्यातमा १९ करोड रुपियाँले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै अलैँची निर्यात बढेको तथ्याङ्कले देखाएको छ। 

मुलुकमा उत्पादित अलैँची छिमेकी मुलुक भारतमा ठुलो परिणाममा निर्यात हुने गरेको छ। भारतबाट व्यवसायीले अन्य देशमा समेत अलैँची निर्यात गर्ने गरेका छन्। 

विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको हो। आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो। अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैँचीको माग बढेसँगै वार्षिक रूपमा अलैँची निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ। व्यापारविज्ञ रविशङ्कर सैँजूले अलैँची निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यात बढाउन सके बढ्दो व्यापार घाटा समेत कम गर्न सकिने उहाँको भनाइ छ। नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ। नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ। नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो। अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ। अलैँची मसलाका रूपमा प्रयोग गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ। नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैँची। जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ। वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु¥याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ। यस्तै आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा नौ हजार ५४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। 

आव २०७५/७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा सात हजार ९५४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, मोरङलगायतका जिल्लामा अलैँची उत्पादन हुन्छ। ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, खोटाङलगायतका जिल्लामा अलैँची खेती धेरै हुने गरेको छ।