राजनीतिक अस्थिरता नेपालको व्यावसायिक वातावरणको प्रमुख अवरोध
2023-11-29 17:21:54cri
Share with:

राजनीतिक अस्थिरतालाई  नेपालको निजी क्षेत्रले व्यावसायिक वातावरणको अवरोधको मुख्य कारण मान्ने पाइएको छ। विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘इन्टरप्राइज सर्भेज २०२३’ को सर्वेक्षणले यस्तो नतिजा देखाएको गोरखापत्र अनलाइनले लेखेको छ। सर्वेक्षणमा सहभागी निजी क्षेत्रका संस्थामध्ये ४१.२ प्रतिशतले राजनीतिक अस्थिरतालाई व्यावसायिक वातावरणको सबैभन्दा ठुलो अवरोध मान्ने तथ्य फेला परेको हो। 

राजनीतिक स्थिरतापछि निजी क्षेत्रले वित्तीय पहुँच र करको दरलाई अर्को व्यावसायिक वातावरणको अवरोधक मानेका छन्। सर्वेक्षण अनुसार यस्तो प्रतिक्रिया दिनेमा समान ११.९ प्रतिशत संस्था छन्।

त्यसपछि ९.१ प्रतिशत निजी संस्थाले व्यापारसम्बन्धी नियमनलाई अवरोधका रूपमा लिएका छन्।  विद्युत्को पहुँच बढेको र औद्योगिक क्षेत्रलाई पर्याप्त भएको भनिए पनि निजी संस्थाले त्यसलाई अझै स्वीकार नगरेको देखिन्छ। सर्वेक्षणमा ७.९ प्रतिशतले संस्थाले विद्युत्लाई नै सबैभन्दा ठुलो अवरोध मानेको देखिएको छ। 

अनौपचारिक क्षेत्रलाई पनि निजी संस्थाले अवरोध मान्ने गरेको सर्वेक्षणमा देखिएको छ। सर्वेक्षणमा सहभागी ५.१ प्रतिशत संस्थाले अनौपचारिक क्षेत्रलाई कारण देखाएका छन्। 

भ्रष्टाचारलाई देशकै मुख्य समस्याका रूपमा देखाइए पनि निजी संस्थाले भने व्यावसायिक वातावरणमा त्यसलाई त्यति धेरै ठुलो कारण मानेको देखिएन। केवल ४.२ प्रतिशत संस्थाले मात्र भ्रष्टाचारलाई यस्तो कारण मानेको सर्वेक्षणमा उल्लेख छ। त्यस्तै सर्वेक्षणमा २.४ प्रतिशत संस्थाले यातायात, २.३ प्रतिशत संस्थाले अशिक्षित कामदार र १.८ प्रतिशत संस्थाले भूमिको पहुँचलाई व्यावसायिक वातावरणको सबैभन्दा ठुलो अवरोध मानेको पनि सर्वेक्षणले उजागर गरेको छ। 

सर्वेक्षणमा विभिन्न उपविधामा पनि व्यावसायिक संस्थाबाट प्रतिक्रिया लिइएको छ। जसमध्ये नियमन र कर, भ्रष्टाचार, व्यवस्थापन अभ्यास, पूर्वाधार अनौपचारिक क्षेत्र, वित्त, नवप्रवर्तन र प्रविधि, व्यापार र कार्यक्षेत्र समेटिएको छ। यसमध्ये व्यवस्थापन अभ्यासमा नेपालका व्यावसायिक संस्था विश्व औसतभन्दा कमजोर देखिएका छन्। पूर्वाधार अन्तर्गत धेरै संस्थाले विद्युत्को आपूर्तिलाई समस्याका रूपमा उल्लेख गरेका छन्। नवप्रवर्तन र प्रविधिको उपयोगमा पनि सहभागी संस्थाको बलियो उपस्थिति देखिएको छैन। महिला नै सञ्चालक रहेका संस्था पनि विश्व औसतको तुलनामा कम देखिएको छ। 

सर्वेक्षणमा सहभागी व्यावसायिक संस्थालाई तोकिएका अन्य कारणमध्ये व्यावसायिक अनुमतिपत्र र अदालतलाई भने व्यावसायिक वातावरणमा कुनै अवरोधक नमानेको पाइएको छ। त्यस्तै कर प्रशासन र अपराध तथा चोरीलाई पनि अत्यन्त कम संस्थाले मात्र अवरोधका रूपमा हेर्ने गरेको देखिएको छ। 

सर्वेक्षणमा कुल ५८२ निजी क्षेत्रका संस्था सहभागी थिए। २०२३ मेदेखि २०२३ अगस्तसम्म गरिएको अन्तर्वार्ताका आधारमा सर्वेक्षण तयार गरिएको विश्व बैङ्कले जनाएको छ। सर्वेक्षणमा सबैभन्दा धेरै अर्थात् २१५ वटा उत्पादनमूलक, ११३ वटा होटल, ८७ वटा खुद्रा व्यवसाय र १६७ वटा अन्य सेवा प्रदान गर्ने निजी क्षेत्र समेटिएको उल्लेख छ। जसमध्ये ९२ वटा ठुला, १८९ वटा मझौला र ३०१ वटा साना व्यावसायिक संस्था रहेका छन्।