आठौँ पर्वतीय महोत्सव पाँच दिनसम्म पोखरामा मनाइँदै
2023-11-30 17:09:47cri
Share with:

नेपाल पर्वतारोहण सङ्घले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ। आठौँ संस्करणको उक्त महोत्सव मङ्सिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातो पैह्रोमा हुने भएको गोरखापत्र अनलाइनले लेखेको छ। यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो।

संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ। सोही दिन पारेर नेपाल पर्वतारोहण सङ्घले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको हो। आठौँ संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागेको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिनुभयो।

यस वर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रदर्शन मुख्य आकर्षणको रूपमा रहनेछ। आयोजक नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड यूथ फर्स्टका विद्यार्थीले मञ्चन गर्नेछन्।

‘‘विद्यार्थीहरूले स्टेजमा गिद्धहरूको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जन साधारणमा पुर्याउनेछ,’’ लम्सालले भन्नुभयो, ‘‘यो कार्यक्रमको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौँ।’’

त्यस्तै, महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने भएको छ। महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र मञ्चन हुनेछन्।

महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिनुभयो। प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ। ‘‘यसबाहेक छेलो प्रतियोगिता, जिप लाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’’ उहाँले भन्नुभयो।