नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउन चीनले सहयोग गर्ने
2023-12-01 16:39:23cri
Share with:

नेपाल सरकारले सन् २०२३–२०३३ लाई भ्रमण दशक घोषणा गरेको छ। १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण दशकको सुरुवाती वर्ष अर्थात् सन् २०२३ मै १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ।

सन् २०२३–२०३३ भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको सरकारले सन् २०२५ लाई भ्रमण वर्ष विशेष वर्षको रुपमा मनाउने तयारी गरिरहेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै २०८० को दशकलाई भ्रमण दशकको रुपमा मनाइने घोषणा गरेको सरकारले सन् २०२५ लाई विशेष भ्रमण वर्षको रुपमा मनाउने उद्घोष गरेको रातोपाटी अनलाइनले लेखेको छ।

 नेपाल भ्रमण वर्ष २०२५ लाई चीनले समेत विशेष सहयोग गर्ने भएको छ। गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशबिच भएको दर्जन हाराहारी सम्झौतामा चीनको तर्फबाट नेपालको पर्यटन उद्योगमा सहयोग पुर्याउने समेत सहमति भएको थियो। उक्त सहमतिमा चीनले नेपालको भ्रमण वर्ष २०२५ मा सकेको पर्यटक पठाउने प्रतिबद्धता जनाउँदै चीनमा समेत नेपाल भ्रमण वर्ष २०२५ मनाउने उद्घोष गरेको छ।

सो अवसरमा चीनले चीनमा आयोजना गरिने सांस्कृतिक र पर्यटन आदानप्रदान गतिविधिमा सहभागी हुन र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू आयोजना गर्न चिनियाँ पक्षले विभिन्न तहमा नेपालको सांस्कृतिक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाहरूलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।

थप चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न हवाई गन्तव्यहरुमा सिधै हवाई उडानको सेवा सुरुवात गर्ने समेत प्रतिबद्धता जनाएको छ। 

भ्रमण दशकभित्रका प्रत्येक वर्ष कम्तीमा एउटा प्रदेशमा प्रदेश भ्रमण वर्ष मनाउने सरकारी योजना छ। सोही योजना मुताविक सन् २०२४ लाई बागमती प्रदेशले प्रदेश विशेष भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ।

बागमती प्रदेश अन्तर्गतकै भरतपुर महानगरपालिकाले समेत नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको साझेदारीमा सन् २०२४ लाई ‘भिजिट भरतपुर’ मनाउने भएको छ। यी भ्रमण वर्षहरुका लागि नेपाल पर्यटन बोर्डले संरक्षक र प्रवर्द्धनात्मक संस्थाको हैसियतले विशेष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

तर, यस वर्षको अक्टोबरसम्म (१० महिना)मा ८ लाख ९ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्। जुन पोष्ट–कोभिड (सन् २०१९) को तुलनामा ८८.७१ प्रतिशतको रिकभरी हो।

सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए। जसमध्ये ९ लाख १२ हजार ७०३ जना पर्यटक अक्टोबरभित्र नेपाल भित्रिएका थिए।

१० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य भेट्न अब १ लाख ९० पर्यटकको आगमन आवश्यक छ। नोबेम्बर महिनामा करिब १ लाख पर्यटक भित्रिँदैगर्दा आउँदो डिसेम्बरमा पनि १ लाखकै हाराहारीमा विदेशी पर्यटक भित्रिनेमा पर्यटन बोर्ड ढुक्क छ। यसो हुँदा १० लाखको सरकारी लक्ष्य सजिलै पूरा हुने पर्यटन बोर्डका प्रवक्ता मनिराज लामिछाने बताउनुहुन्छ।

‘सरकारी लक्ष्य भेट्नेमा अब चिन्ता छैन। पर्यटक आगमनको उत्साहप्रद तथ्याङ्कले १० लाख कट्ने हाम्रो अनुमान छ,’ लामिछानेले भन्नुहुन्छ, ‘बरु अब सबै पर्यटन क्षेत्र, सरकार, निजी सबै मिलेर भ्रमण दशक सफल पार्न लाग्नुपर्ने आवश्यकता छ।’

भ्रमण वर्षको सुरुवाती वर्षमै करिब १० लाख पर्यटक भित्रिँदा बाँकी ९ वर्षमा २५ लाख पर्यटक सजिलै भित्रिने सरकारी अनुमान छ। सन् २०१९ मा पर्यटकको उत्साहप्रद आगमन थियो। उक्त वर्ष झण्डै १२ लाख (११ लाख ९७ हजार १९१ जना) विदेशी पर्यटक आएकामा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको थियो। तर, दुर्भाग्यवस भ्रमण वर्ष सुरु नहुँदै विश्वमा कोरोना भाइरसको महामारी फैलिन पुग्यो। सो वर्ष मुस्किलले २ लाख ३० हजारमात्र पर्यटक नेपाल भित्रिए। २० लाखको लक्ष्य राखिएको वर्ष मुस्किलले २ लाख मात्र पर्यटक भित्रिनुलाई सामान्य मान्न सकिन्न।

कोभिड–१९ को प्रभाव यसैगरी पछिल्ला दुई वर्ष सन् २०२१ र २०२२ पनि पर्यटकको आगमन हुन सकेन। सन् २०२१ मा १ लाख ४९ हजारमात्र पर्यटक भित्रिएकोमा सन् २०२२ मा केही आगमन बढेर ६ लाख १४ हजार पुग्यो। क्रमशः कोभिडको प्रभाव कम हुँदै गएसँगै सन् २०२३ मा पर्यटक आगमनको संख्या १० लाख कट्ने पछिल्ला तथ्याङ्कहरुले देखाएका छन्।