बेनी जोमसोम कोरला जोड्ने राहुघाट–तातोपानी सडक खण्डको काम सुरु
2023-12-01 16:40:04cri
Share with:

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहु घाट–तातोपानी खण्डको सडक निर्माणको काम छ वर्षपछि ढिला गरी सुरु गरेको गोरखापत्र अनलाइनले लेखेको छ। योजनाको पहिलो प्याकेज १९ किलोमिटर दुरीको उक्त खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शर्मा युनाइटेड जेभीसँग २०७४ जेठमा ठेक्का सम्झौता भएको थियो। मुख्य ठेकेदारले पेटी ठेक्का दिने,भौगोलिक कठिनाइ,प्राकृतिक विपत्ति र कोरोना महामारीका कारण यो खण्डको निर्माण बिचमै अलपत्र परेको थियो।  

लामो समयसम्म योजना अलपत्र पारेपछि ठेक्का तोड्ने र कालोसूचीमा राख्ने सम्मको चेतावनीपछि ठेकेदार कार्यस्थलमा फर्किएर काम थालेको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिनुभयो। यो खण्डमा पहिरोग्रस्त स्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार,नाली,पर्खाल निर्माण र सब बेस बिछ्याउने काम सकिएकाले कालोपत्रेको तयारी गरिएको उहाँले बताउनुभयो। 

 भौगोलिक रूपमा अफठ्यारो स्थानहरू चमेरे,वैसरी र महभिर बाहेकको सडक कालोपत्रे गर्नका लागि तयारी गरिएको शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘सब बेसको काम सम्पन्न भएर करिब ६ किलोमिटरमा बेस राखिसकेका छौँ। मौसमले साथ दियो भने ६ देखि ८ किलोमिटर दुरी सम्मको सडक यस पालीनै कालोपत्रे गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ।’’  

यो खण्डमा विभिन्न स्थानमा गरेर  ४ किलोमिटर जति पहिरो स्थल भएकाले ग्राभेल गर्ने र महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट  हटाइको छ। बाँकी साढे दुई किलोमिटर साढे एक वर्ष अगाडी नै कालोपत्रे गरिसकिएको छ। 

सहायक ठेकेदार ओमकारेश्वरले राहु घाट पुल देखि कुनौटो सम्मको सडक अलपत्र पारेको र पटक पटक काम सम्पन्न गर्न ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले बताउनुभयो। 

यसपालि जसरी पनि निर्माण सम्पन्न गर्ने योजनाका साथ कार्यस्थलमा आएको छौँ, शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले भन्नुभयो, ‘‘योजना सम्पन्न नगरी हामीलाई सुखै छैन। जसरी पनि योजना सम्पन्न गरेर उम्किने हो। दसैँ तिहार र छडका कारण कामको गति सुस्त भए पनि अव निर्माणले गति लिन्छ। मजदुर र उपकरण परिचालन गरेर काम थालेका छौँ। चैत–वैशाख भित्र योजना सम्पन्न गर्दछौँ।’’ 

ओमकारेश्वरलाई पेटी ठेक्का दिएको राहु घाट देखि कुनौटे सम्मको ८ किलोमिटर दुरीको खण्डलाई पनि छिटो सक्न पटक पटक ताकेता गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘अव हामीसँग पर्खिने समय छैन। ओमकारेश्वरलाई अन्तिम चेतावनी दिएका छौँ। एक हप्ताभित्रमा काम सुरु नगरे पेटी ठेक्का तोडेर आफै काम थाल्छौँ।’’ काम सम्पन्न गरेको स्थान म्याग्दीको रघुगंगा गाउँपालिका ३ बैसरी र सिरुवारी क्षेत्रमा ठुलो पहिरो खसेर दुःख दिएकाले यस क्षेत्रको दिगो रोकथामका लागि आयोजनाले सोच्नुपर्ने उहाँको भनाइ छ।