नेपालमा लगानी गर्न दुबईका लगानीकर्तालाई प्रधानमन्त्री दाहालको आग्रह
2023-12-01 16:40:41cri
Share with:

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (दुबई) का लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुग्नु भएका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

दुबई उद्योग वाणिज्य संघसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिनु भएको थियो।

यूएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले यूएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताउनुभयो।

दुबइ उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य संघ र दुबइ उद्योग वाणिज्य संघबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएको दूतावासले जनाएको छ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र यूएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनु भएको थियो। कार्यक्रममा यूएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो। त्यसअघि प्रधानमन्त्री दाहालले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गर्नु भएको थियो। बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ।