नेपाल र चीनको सङ्युक्त लगानी भएको हिमालय एयरलाइन्सद्वारा काठमाडौँ-साङ्घाई उडान
2023-12-02 19:23:38cri
Share with:

नेपाली र चिनियाँ सङ्युक्त लगानीको हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ। एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा शनिबारदेखि नियमित उडान प्रारम्भ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ९ बजेर २० मिनेटमा एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो। उक्त जहाज साङ्घाईबाट यात्रु लिएर शनिबार राति नौ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

काठमाडौँ-साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ। हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ। साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो। योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ।

उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

उहाँले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौँ–साङ्घाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो। 

उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरू खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताउनुभयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पछिल्लो समय काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत-जावत गरिरहेको जानकारी दिनुभयो।

नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले साङ्घाई-काठमाडौँमा हिमालय एयरलाइन्सको उडानले दुई देशबिचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्त्वपूर्ण भएको बताउनुभयो।

साङ्घाई जनवादी गणतन्त्र चीनको ठुलो सहरमध्ये एक हो। करिब  ४० मिलियन जनसङ्ख्या रहेको साङ्घाई चीनको उद्योग कलकारखानाको राजधानीका रूपमा पनि कहलिएको छ। यो चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ।