पाल्पामा प्रथम सुन्तला महोत्सव
2023-12-03 19:50:51cri
Share with:

सुन्तलाबारे प्रचारप्रसार गर्न पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङ्गमैनादीको मैनादीमा प्रथम सुन्तला महोत्सव शनिबार गरिएको छ। रिब्दीकोट गाउँपालिकाको संरक्षकत्व, वडा कार्यालयको आयोजना, मैनादी कृषि सहकारीको व्यवस्थापनमा सुन्तला महोत्सव गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

एक दिन राखेको महोत्सवमा सुन्तलाजन्य १० वटा स्टल रहेका थिए। महोत्सव अवलोकन गर्न छिमेकी गाउँबाटसमेत स्थानीय पुगेका थिए। महोत्सवमा सुन्तला प्रदर्शनी, सुन्तलाबाट बनेका जाम, जुस, जेली लगायतको प्रदर्शनी गरिएको थियो। महोत्सवमा सुन्तला तथा फलफुल विकास केन्द्र तानसेनले प्रविधि प्रदर्शनीका साथै सुन्तलामा लाग्ने रोगकिराका विषयमा जानकारी गराएको थियो। कृषि ज्ञान केन्द्र तानसेनले निःशुल्क माटो परीक्षणका साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोनले बाली उपचार शिविर राखेको थियो।

सोही कार्यक्रममा स्थानीय मैनादी मौरी स्रोत केन्द्रले मौरी र हेफर प्रोजेक्ट नेपालले बेसार खेती सम्बन्धी जानकारी गराएको थियो। महोत्सवमा मैनादी गाउँमा ४४ वर्ष अघि समाजसेवी ९० वर्षीय लोकबहादुर कुँवरले व्यावसायिक सुन्तला खेतीको सुरुवात गरेकाले सोही अवसरमा प्रतिनिनिधसभा सदस्य ठाकुर गैरे, गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की लगायतले सम्मान गर्नु भएको थियो।

मैनादीमा झण्डै २ सय बढी घरधुरीले कृषि पेशा अन्तरगत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो। यस क्षेत्रमा सुन्तलाको उत्पादन कृषकले सोचेभन्दा धेरै राम्रो भएकोले यसको उचित मुल्य तोकेर बजारीकरण गर्ने, यस क्षेत्रको प्रचारप्रसारले किसानमा हौसला र उत्प्रेरणाका लागि थप ऊर्जा प्रदान गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिएको वडाध्यक्ष दानबहादुर कुँवरले बताउनुभयो।

सुन्तला सम्बन्धी ज्ञान सीप तालिम वडा कार्यालयले प्राविधिकबाट गराउँदै आएको छ। सहकारीले वडा तथा गाउापालिकाको सहयोगमा सुन्तलाको बेर्नामा ५० प्रतिशत अनुदान, सुन्तलाका लागि खाडल खन्न रकम उपलब्ध र रोग किरा सम्बन्धि तालिम दिदै आएको छ। उत्पादन गरेको सुन्तलामा प्रोत्साहन स्वरुप प्रति केजी २ प्रतिशत अनुदान रकम उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले जानकारी दिए।

महोत्सवमा सुन्तला खेतीको प्रचारप्रसार, सुन्तलाको स्टल अवलोकन, सुन्तलाका विरुवा प्रदर्शन, निःशुल्क माटो शिविर, प्लान्ट क्लिनिक, सुन्तलासम्बन्धी यन्त्र उपकरण प्रदर्शनी गरिएको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो। महोत्सवमै अमिलो जातका अचार प्रदर्शनी, नमुना बगैचा अवलोकन, स्थानीय कला संस्कृति प्रदर्शनी, सुन्तलाको जुस, जाम, जेली, सलादको प्रदर्शनी, सुन्तला खानेन प्रतियोगिता गरिएको कृषि शाखा प्रमुख रञ्जिव कुँवरले बताउनुभयो। उत्पादन भएको सुन्तला बिशेष गरी देशका विभिन्न शहरहरु भैरहवा, पोखरा, बुटवल, पाल्पा, काठमाडौं र जनकपुर खपत हुने गर्छ।

यही गाउँबाट गत वर्ष सुन्तला मात्रै वार्षिक १ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने यस वर्ष २ करोड १० लाख रुपैया पर्ने अनुमान गरिएको छ।