जलवायु सम्मेलनमा भाग लिएर प्रधानमन्त्री स्वदेश फिर्ता, विश्व समुदायको प्राथमिकतामा नेपाल
2023-12-04 16:28:32cri
Share with:

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे यूएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किनुभएको हो।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुतिले सकारात्मक तरङ्ग ल्याएको बताउनु भएको छ । आइतबार साँझ दुबईमा आयोजित सो सम्मेलनमा भाग लिएर स्वदेश फर्कनुभएका उहाँले नेपालको तर्फबाट आफ्नो प्रस्तुतिले त्यहाँ तरङ्ग ल्याएको दाबी गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सो सम्मेलनमा नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको पनि बताउनु भयो ।

सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको प्रधानमन्त्रीको  भनाइ छ । उहाँले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘कोप २८ पहिला पहिलाको भन्दा फरक, प्रभावकारी हुन्छ भन्ने सबै राष्ट्रहरुको सरकार प्रमुख, राष्ट्र प्रमुखहरुको धारणा थियो। नेपालको अहिलेसम्म नेपालको छुट्टै पेभिलिएन थिएन यस अघि। पहिलो पटक त्यहाँ पेभिलिएन प्राप्त भएर त्यहाँ हाम्रा युवाहरु, पत्रकारहरु, विज्ञहरु त्यहाँ केन्द्रित भएर त्यहाँ लगातार हस्तक्षेप हुने गरी कार्यक्रम भयो।यो हाम्रा लागि खुशीको कुरा भयो। दोस्रो, संयुक्त राष्ट्र संघका महासभामा गएर हामीले जोड दिएर अन्तराष्ट्रिय समुदायलाई अपिल गर्ने काम गरियो। र, महासचिवलाई नेपाल भ्रमणको निम्तो दिइयो। उहाँले नेपालमा सगरमाथा पुग्ने, अन्नपूर्ण हिमाल पुग्नु, सबैसँग अन्तरक्रिया गर्नु यो सम्मेलनमा नेपालका लागि ठूलो अवसर भयो। मेरो अध्यक्षतामा जो त्यो राउण्ड टेबल भयो । त्यसमा सबैले नै नेपालको प्रशंसा गर्नुपर्ने जस्तो भयो। नेपालका नाम उल्लेख नगरीकन त बोल्नै नसक्ने जस्तो अवस्था भयो।

 प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनभर नेपालको चर्चा विश्वभर गराउन पनि आफूहरु सफल भएको बताउनुभयो ।

 कोप-२८ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको बताउनुभयो।प्रधानमन्त्रीले उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको उहाँले बताउनु भएको हो।जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्त्व दिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताउनुभयो।

सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमै जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गर्नुभयो।

यसैबीच प्रधानमन्त्री दाहालले उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुका साथै विश्वका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्नुभएको गोरखापत्र अनलाइन लेख्दछ।