मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु
2023-12-05 16:03:10cri
Share with:

मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ। बाबु एडभेन्चर्स प्रालिले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो। थाहा नगरपाललिका–९ को चन्द्रगिरि डाँडाबाट उडान भरेर वडा नं. ९ कै चित्लाङमा अवतरण गर्ने व्यवस्था गरिएको छ । बाबु एडभेन्चर्सका संस्थापक सानुबाबु सुनुवारले लामो समयको अध्ययन र अनुसन्धानसँगै सरकारबाट स्वीकृति पाएपछि उपत्यका नजिकै प्याराग्लाइडिङ उडान भर्ने कार्य भइरहेको जानकारी दिनुभयो। उहाँले प्याराग्लाइडिङ उडानका क्रममा काठमाडौँ उपत्यका, हिमशृङ्खला, चित्लाङ, मार्खुलगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गर्न सकिने बताउनुभयो।

 कम्पनीले रामेछाप, पोखरा, सुर्खेत, दाङलगायतका स्थानमा विदेशी र नेपालीलाई लक्षित गरी प्याराग्लाइडिङ सञ्चालन गर्दै आएको छ। चन्द्रगिरि डाँडाबाट उडान सुरु गरेपछि १५ देखि ३० मिनेटसम्म उडान गर्न सकिने बताउँदै उहाँले हाल छ वटा प्याराग्लाइडिङ उडान गर्न सक्ने सामग्री रहेको बताउनुभयो।

 गोरखापत्र अनलाइनका अनुसार प्याराग्लाइडिङ उडान भएसँगै चित्लाङ क्षेत्रको पर्यटन विकासमा थप सहयोग पुग्ने छ। थप सामग्रीको व्यवस्थापन गर्दा चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्दा लागत एक करोड रुपियाँ पुग्ने कम्पनीको भनाइ छ। यहाँ नेपालीले प्याराग्लाइडिङ उडान गरेबापत प्रतिव्यक्ति कम्पनीले आठ हजार रुपियाँ लिँदै आएको छ।