५ दिनसम्म काठमाठौंमा चलेको नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न
2023-12-05 16:16:18cri
Share with:

 ‘नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिब साढे दुई करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार सोमबार सम्पन्न ५ दिने मेलामा करिब साढे दुई करोडको कारोबार र करिब २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन्।

 ग्राहकलाई लक्षित गरेर नेपाल, बंगलादेश र पाकिस्तानले मात्रै स्टल राखेकाले अपेक्षाअनुसारको कारोबार नभएको महासंघका सहायक निर्देशक परशुराम नेपालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘इन्डियाको कन्जुमर फेयर भन्दा पनि पावर शो थियो। चीनको मेसिनरी टेक्नोलोजीसँग रिलेटेड भएको हुनाले उनीहरूले डाइरेक्ट सेल भन्दा पनि नेटवर्किङको हिसावले आए। करिब ६० वटा नेपाली स्टल अनि भारतीय, बंगलादेश र पाकिस्तानको ५/७ वटा, ५/७ वटा चाहिँ बिक्री गर्ने स्टल राखेकाले करिब साढे २ करोड जति कारोबार भएको अनुमान गरिएको छ ।’

 नेपालमा उत्पादित निर्यातयोग्य वस्तुहरुको बजारीकरण गर्नका लागि मेला आयोजना गरिएको थियो । बजार प्रवर्द्धनको हिसाबले भने मेला फलदायी रहेको महासंघको निष्कर्ष छ । मेलामा नेपाली हस्तकलाका सामग्री, बंगलादेशको कपडा र पाकिस्तानको छालाका ब्याग, पर्स, ज्याकेटलगायतका सामग्रीमा ग्राहकले चासो दिएका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत मंसिर १४ गते उद्घाटन गर्नुभएको थियो। अन्तर्राष्ट्रिय मेलामा नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तानसहितका देशका व्यवसायीले करिब २ सय वटा स्टल राखेका थिए।

कान्तिपुर अनलाइनका अनुसार नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजना हुने गरेको छ ।