नेपालमा पर्यटक आगमन, भारतीय र चिनियाँ पर्यटकबाट अपेक्षाकृत गति
2023-12-05 16:06:06cri
Share with:

सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो वर्षको एघार महिना (जनवरी–नोभेम्बर) अवधिमा ९ लाख १८ हजार ३ सय ८ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। अबको एक महिनामा ८२ हजार विदेशी पर्यटक भित्र्याउने हो भने सरकारी लक्ष्य पुरा हुनेछ। यो अवधिमा भित्रिएका मध्ये धेरै पाहुना भारतीय छन् भने त्यसपछि चिनियाँ पर्यटक छन्।

 नेपाल पर्यटन बोर्डको तथ्यांकमा हवाई मार्गबाट भित्रिएका पाहुना मात्र समेटिएका छन्। बोर्डको तथ्यांक अनुसार ११ महिना अवधिमा नेपाल भित्रिएका विदेशी पाहुना मध्ये २ लाख ८७ हजार २ सय ४४ जना भारतीय पाहुना हुन्। बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार भारतीय पाहुनाको आगमनमा कोरोना भाइरस संक्रमण पछि निकै नै सुधार भएको छ।

‘सामान्य अवस्थामा नेपाल भित्रिने भारतीय पाहुनाले १५ देखि २० प्रतिशत हिस्सा ओगट्ने  हुन्। तर, यो वर्ष त्यो आकार निकै नै बढेको छ। भारतीयको आगमनमा निकै नै सुधार भएको मान्नुपर्छ,’ बोर्डका निर्देशक लामिछाने भन्नुहुन्छ, ‘झन्डै एकतिहाई हिस्सा भारतीय पाहुनाले लिएका छन्। पर्यटन क्षेत्रका लागि यो निकै नै सुखद पक्ष हो।’भारतका विभिन्न सहरमा बोर्ड र निजी क्षेत्रले बारम्बार प्रवर्द्धनात्मक गतिविधि गरेकोले पनि भारतीय पाहुना आगमनमा वृद्धि भएको उहाँले भन्नुभयो। ‘भारतसँगको कनेक्टिभिटि पनि निकै नै राम्रो छ। आउजाउ सहज भएको र व्यवसायीले पनि प्रवर्द्धनमा जोड दिएकोले भारतीय पाहुना थपिएका हुन्,’ उहाँले भन्नुभयो।

लामिछानेका अनुसार यो अवधिमा भित्रिने विदेशी मध्ये चिनियाँ पाहुनाको हिस्सा झन्डै ६ प्रतिशत छ। यो भने कम हो। किनकि चिनियाँको आगमन सामान्य अवस्थामा १० देखि १५ प्रतिशत हुने गरेको थियो।

लामिछानेका अनुसार नेपालका लागि चीन र भारत परम्परागत पर्यटन बजार हुन्। सहज आउजाउ हुँदा ती मुलुकबाट भित्रिने पाहुनाको आकार राम्रो हुने गरेको थियो। ‘नेपालका लागि चीन परम्परागत बजार हो, तर, नेपालका लागि चिनियाँ पाहुनाको आकारमा अझै रिकभर भइसकेको छैन,’ उहाँले भन्नुभयो।

 नेपालमा हवाई माध्यमबाहेक ठूलो आकारमा भारतीय पाहुना स्थलमार्गबाट पनि भित्रिन्छन। तर, ती पाहुनाको तथ्यांक कतै समेटिएको छैन। भारतीय पाहुना फरक फरक प्रकृतिका हुन्छन्। धार्मिकदेखि महँगा पाहुना पनि नेपाल आउँछन्। भारतीय पाहुना कम मात्रामा पदयात्रामा जान्छन्।

कोभिडको बेला भारतीय सहरमा प्रवर्द्धनमा जोड दिएकोले पनि अहिले भारतीयको आगमन बढेको उहाँले बताउनुभयो।

 यो वर्षको ११ महिना अवधिमा नेपाल भित्रिएका विदेशी पाहुनामध्ये ९३ हजार ३ सय २७ जना अमेरिकन छन्। अमेरिकन पाहुनाले १० प्रतिशत हिस्सा ओगटेका छन्। लामिछानेका अनुसार बेलायती पाहुनाको आगमनमा भने अझै तुलनात्मक सुधार हुन सकेको छैन। सामान्य अवस्थामा नेपाल भित्रिने बेलायती पाहुनाको आकार ८ प्रतिशतसम्म हुने गरेको थियो। तर, यो पटक त्यो आगमनको आकार पाँच प्रतिशत मात्र रहेको बोर्डले बताएको छ।

 ‘नेपाल भित्रिने भारतीयको संख्या निकै नै राम्रो छ। भारतीय पाहुनाकै कारण पर्यटन क्षेत्र थेगिएको हो,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्नुहुन्छ, ‘चिनियाँ पाहुना केही वर्ष राम्रै पायौ।’

पराजुलीका अनुसार भारतीय पाहुनाका कारण नै गत अक्टोबर र नोभेम्बरमा पोखराको पर्यटन क्षेत्र चलायमान बन्यो।