अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध रहेको उपप्रधानमन्त्री खड्काको भनाइ
2023-12-06 16:02:08cri
Share with:

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सम्मेलनका अवसरमा आज संयुक्त राष्ट्रसङ्घ मुख्यालय, कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले उपप्रधानमन्त्री खड्कासँग शिष्टाचार भेट गर्नुभयो । भेटमा उपमहासचिव खरेले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि निर्वाह गरेको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद दिनुभयो ।

 भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र सङ्घको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको उल्लेख गर्नुभयो । साथै यसका लागि संयुक्त राष्ट्र सङ्घबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभयो । संयुक्त राष्ट्रसङ्घ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गर्नुभयो । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदरस्वरूप संयुक्त राष्ट्रसङ्घको मुख्यालय तथा शान्ति मिसनहरूमा समेत नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा चिन्तित रहेको र जारी कोप–२८ मा समेत जोडदार रूपमा नेपालले उठाएको स्मरण गराउनुभयो ।

गोरखापत्र अलाइनका अनुसार उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गर्नुभयो । रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले कतिपय शान्ति मिशनमा घाना र नेपाली शान्ति सैनिकहरूले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्न र बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्न सधैँ तत्पर रहेको बताउनुभयो। खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले त्यस अवसरमा घाना र नेपालबिच द्विपक्षीय सम्बन्ध विस्तार गर्न पर्यटन, कृषिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको जानकारी गराउनुभयो ।

 उपप्रधानमन्त्री खड्कासँग भारतका रक्षा राज्यमन्त्री अजय भट्टले पनि शिष्टाचार भेट गर्नुभयो। त्यस अवसरमा नेपाल र भारतबिच रही आएको बहु आयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबिचको सहयोग र सहकार्यका बारेमा छलफल भयो। खड्काको स्वागतमा घानास्थित गैर आवासीय नेपाली सङ्घले एक कार्यक्रम आयोजना गर्यो। सङ्घ घानाका अध्यक्ष विकास सुवेदीले घानामा करिब एक सय ५० जना नेपालीहरू विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेको उल्लेख गर्नुहुँदै घानासँग नेपालको श्रम सम्झौता नभएका कारण रोजगारीका लागि घानामा आउन कठिनाइ भइरहेको र घानामा आर्जन गरेको रकम नेपाल पठाउन समेत समस्या भएको बताउनुभएको थियो ।

उपप्रधानमन्त्री खड्काले नेपालीहरूलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदानप्रदान गर्न र नेपालको कला, संस्कृति प्रवर्द्धन गरी घानाका नागरिकलाई नेपाल भ्रमण गर्नका लागि उत्प्रेरित गर्न एवं आफूले सिकेको ज्ञान र आर्जन गरेको रकम नेपालमा पठाउन नेपाली सङ्घले सहजीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।