अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायकद्वारा काठमाडौंमा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट
2023-12-07 15:47:58cri
Share with:

नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 बुधबार वरिष्ठ निर्देशक लाउबाचरले  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउने बारेमा छलफल गर्नुभएको थियो । बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्नुभएकी उहाँले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गर्नुभएको राससले जनाएको छ।

यसैबीच मङ्सिर २२ गते शुक्रबारदेखि धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड धनगढी जानुहुनेभएको छ। सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ संस्करणको महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने कार्यक्रम  निश्चित भएको बताउनुभयो।

 अध्यक्ष कुँवरले भन्नुभयो, ‘‘प्रधानमन्त्री आउने भएपछि महोत्सवको गरिमा अझै बढ्नेछ, यस क्षेत्रका व्यवसायीहरुले भोग्नुपरेका समस्या र अहिलेको अवस्थाबारे प्रधानमन्त्रीसँग व्यवसायीले कुरा राख्न पाउनेछन्। उद्योग वाणिज्य सङ्घले पनि यसक्षेत्रका  व्यवसायीहरुका समस्या प्रधानमन्त्री समक्ष राख्नेछ ।’’

अध्यक्ष कुँवरले प्रधानमन्त्री आउने तय भएपछि त्यही अनुसारको तयारी गरेको जानकारी दिनुभयो।गोरखापत्र अनलाइनका अनुसार महोत्सव १० दिनसम्म चल्नेछ ।