रोजगारीका लागि युरोप जाने नेपाली युवाको संख्यामा वृद्धि
2023-12-07 15:48:34cri
Share with:

मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो चार महिनामा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् । जब कि गत आव २०७९/८० मा सो अवधिमा क्रोएसिया, माल्टा र पोल्यान्डमा साढे सात हजार रोजगारीका लागि गएका थिए । चालु आव र गत आवको चार महिना अवधिमा वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क विश्लेषण गरेर हेर्दा विदेश जाने गत वर्ष धेरै भए पनि युरोप जानेको सङ्ख्या यो वर्ष धेरै देखिएको छ ।

 गोरखापत्रअनलाइनका अनुसार युरोप रोजगारीमा जाने अधिकांश व्यक्तिगत रूपमा जाने गरेका छन् । युरोपका चार देशमा गएका श्रमिकको सङ्ख्या हेर्दा संस्थागतभन्दा व्यक्तिगत रूपमा जानेको सङ्ख्या उच्च रहेको छ । विभागका अनुसार पछिल्लो चार महिनाको अवधिमा युरोपका चार देशमा १० हजार ६७८ जना गएकामा व्यक्तिगत रूपमा जानेको सङ्ख्या नौ हजार ४८ रहेको छ भने संस्थागत रूपमा जानेको सङ्ख्या एक हजार ६७० मात्रै रहेको छ ।

नेपाल सरकारले युरोपमा रोजगारीका लागि सहजीकरण नगर्दा व्यक्ति तथा कन्सल्टेन्सीबाट जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ । त्यसो त कतिपय वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगार नीतिविपरीत व्यक्तिगत श्रम स्वीकृतिमा समेत वैदेशिक रोजगारधन्दा चलाउँदै आएको पाइएको छ । यो आव सुरु भएयता क्रोएसिया जानका लागि चार हजार आठ जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदा ५३७ जना मात्र संस्थागत रूपमा रोजगारीमा गएको पाइएको छ।

त्यस्तै माल्टा रोजगारीका लागि तीन हजार ४१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदा १०२ जनाले मात्र संस्थागत रूपमा श्रम स्वीकृति लिएको पाइएको छ ।

 यस्तै ९०३ जनाले पोल्यान्ड जान व्यक्तिगत श्रम स्वीकृति लिँदा संस्थागत रूपमा रोजगारीमा जानेको सङ्ख्या शून्य रहेको पाइएको छ । यस्तै सो अवधिमा रोमानिया रोजगारीमा जान दुई हजार ४७ जना नेपालीले अन्तिम श्रम स्वीकृति पाएका छन् । जसमध्ये ९३१ जना मात्र संस्थागत रूपमा गएको पाइएको छ । यसका अलवा युरोपका अन्य देशमा जाने नेपालीसमेत व्यक्तिगतबाट मात्र वैदेशिक रोजगारीमा गएको जनाइएको छ ।

 पछिल्लो समय अवैधानिक व्यक्ति तथा कन्सल्टेन्सीको सक्रियतामा धमाधम श्रम स्वीकृति लिँदै वैदेशिक रोजगारमा जाने क्रम बढेको छ । यसरी युवा गइरहेको विषयमा सम्बन्धित निकाय जानकार भए पनि नियन्त्रणको पाटो निकै फितलो भएको स्वयम् सरकारी अधिकारी नै स्वीकार गर्छन् । वैदेशिक रोजगार विभागका निर्देशक एवं प्रवक्ता कविराज उप्रेतीले युरोपको रोजगारीलाई आगामी दिनमा व्यवस्थित बनाउने विषयमा काम गरे पनि यसअघि धेरै समस्या रहेको बताउनुभयो ।

 संस्थागत रूपमा असुली गर्नेले समेत विज्ञापन गर्दा ५०/६० हजार उल्लेख गरेर पाँच लाखदेखि १४ लाखसम्म असुल्छन् । यसरी असुली हुने रकमको आधाभन्दा बढी रकम विदेशकै एजेन्टलाई जाने गरेको छ । युरोप रोजगारीको मुख्य बेथिति रोजगारीमा जान पाएकाभन्दा पटक पटक कोसिस गरेर पनि जान नपाएका वा विविध बहानामा फसेकालाई थाहा छ। अनुमानित आकलन अनुसार हरेक एक सय जना युवाले युरोप रोजगारीका लागि प्रयास गर्दा सफल हुनेको सङ्ख्या २०/३० मात्र रहेको छ ।