अर्थतन्त्र सुधार्न नयाँ घोषणाको तयारी गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई
2023-12-08 15:47:31cri
Share with:

मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकारले नयाँ घोषणाको तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारमा सरकार अत्यन्त गम्भीर रहेको र समाधानका लागि सबै सरोकारवालासँग बृहत् बैठक गरेर केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । बिहीबारदेखि सुरु चौथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यसका लागि सरोकारवाला सबैको सक्रिय सहभागिता र महत्वपूर्ण सुझावको सरकारले अपेक्षा गरेको बताउनुभयो ।

 उहाँले तथ्याङ्कले अर्थतन्त्र सुधार हुँदै गएको देखाए पनि व्यवहारमा त्यस्तो नदेखिएकाले सुधारका लागि थप प्रयत्न आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ तर व्यवहारमा आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ ।”उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न आर्थिक कार्यक्रम अगाडि बढाइरहेकाले यसका लागि व्यवसाय र सबै सरोकारवाला पनि जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो । उहाँले अर्थतन्त्रका समस्या समाधान गर्न आफ्नै पहलमा सरोकारवालासँग नियमित छलफल गरिरहेको जानकारी दिनुभयो ।

“अर्थतन्त्रको विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु,” प्रधानमन्त्रीले भन्नुभयो, “केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञ सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत् अन्तर्क्रिया गरेको छु ।” उहाँले अन्तर्क्रियापछि केही महत्वपूर्ण घोषणासमेत गरिएकाले त्यसले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। सम्मेलनका क्रममा उहाँले नेपाललाई लगानीको गन्तव्य बनाउन आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । हालै संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित उद्यमी व्यवसायी सम्मेलनका क्रममा पनि आफूले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले व्यवसाय तथा उद्यमशीलता प्रवर्धनका लागि नैतिक अभ्यास महत्वपूर्ण हुने पनि बताउनुभयो । उहाँले जिम्मेवार व्यावसायिक अभ्यास नैतिक, सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक हुने उल्लेख गर्दै भन्नुभयो, “जिम्मेवार अभ्यासमार्फत व्यवसायीले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन् ।”

 उहाँले मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र नभएर सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिने छ भन्ने विश्वास सरकारको रहेको भन्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेका कदममा सबैको साथ र सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

 सम्मेलनको आयोजक राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले कोभिड सङ्क्रमण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सिर्जित आर्थिक समस्या, बढ्दो विदेश पलायनलगायत कारणले नेपालको अर्थतन्त्रको चरित्र परिवर्तनको सँघारमा रहेको बताउनुभयो । उहाँले यस्तो चुनौतीपूर्ण समयमा आशा जगाउन सबैको सामूहिक प्रयत्नको खाँचो रहेको र सम्मेलनले त्यसलाई आत्मसात् गरेको बताउनुभयो ।  काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले प्रविधि र यसको आयाममा विकसित परिवर्तनले व्यवसायको प्रकृतिलाई परिवर्तन र प्रतिस्पर्धी गराउँदै लगेको बताउनुभयो। उहाँले यस्तो अवस्थामा प्रविधिको उपयोगमार्फत व्यवसायको दिगो प्रवर्धन नेपालका लागि चुनौतीपूर्ण हुन सक्ने बताउँदै प्रविधिमा लगानी बढाएर व्यवसायको सञ्चालन लागत घटाउने दिशामा नेपालले जोड दिनुपर्ने बताउनुभयो। गोरखापत्र अनलाइन।