नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय
2023-12-08 15:48:56cri
Share with:

बंगलादेशी सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ। त्यहाँको मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबारको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो। नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने नखुलाइएको समाचारहरुमा उल्लेख छ। आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा बिजुली खरिद मूल्यबारे छलफल हुनेछ ।

 ३ महिनाअघि नै त्यहाँका विद्युत, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालबाट जलविद्युत आयात गर्ने लगभग अन्तिम चरणमा पुगेको बताएका थिए । राजनीतिक र कर्मचारीको तहमा लामो छलफलपछि भारतले आफ्नो प्रसारणलाइन प्रयोग गरेर बंगलादेशलाई नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न अनुमति दिन सहमति जनाइसकेको छ ।

 बंगलादेशको पावर सेलका महानिर्देशक मोहम्मद हुसेनले भारतको भूभाग हुँदै नेपालबाट विद्युत आयात गर्न बहरामपुर–भेरमारा प्रसारण लाइन प्रयोग गरिने जानकारी दिएका छन् । योजनाअनुसार बंगलादेशले सेवा प्रदायकको रुपमा भारतीय नोडल एजेन्सी एनटीपीसी विद्युत व्यापार निगममार्फत नेपालबाट बिजुली आयात गर्ने छ।

 नेपालबाट बंगलादेशमा विद्युत बेच्न गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर हुनुपर्छ । एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल–भारतबीच विद्युत आयात–निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ ।

गत २ जेठमा बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको थियो ।

 साउन २०७७मा नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिइसकेको छ । वर्षायाममा बढी भएको बिजुली नेपालले भारत निर्यात गर्दै आएको छ ।

 बंगलादेशमा पनि निर्यात गर्ने तयारी भएपनि लामो समय भारतले प्रसारण पूर्वाधार प्रयोग गर्न अनुमति नदिँदा अलमल भएको थियो । तर, पछिल्लो समयमा बंगलादेशको सरकारले पनि चुनावी कारण देखाएर निर्णयमा ढिलाइ गरिरहेको थियो ।

 साउन २०७५ मा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो । त्यसयता बिजुली निर्यातको तयारीका लागि बंगलादेशका अधिकारीहरुको टोलीले पनि थुप्रै पटक नेपालको भ्रमण गरिसकेको छ। बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाको बिजुली बेच्ने तयारी छ।