२० औं हस्तकला व्यापार मेला मंसिर २८ देखि
2023-12-08 15:48:09cri
Share with:

नेपाल हस्तकला महासंघले आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ। यसअघि मुलुकको आर्थिक अवस्थाका कारण स्थगित मेला मंसिर २८ गतेदेखि पाँच दिनसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुनेछ। हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो। मेला मंसिर २८ गतेदेखि पुस २ गते (सन् २०२३ को डिसेम्बर १४ देखि १८) सम्म सञ्चालन हुनेछ।

 नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दै आएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्‍याउने मेलाको लक्ष्य रहेको छ ।

 मेलामा हस्तकलाका वस्तुहरुको करिब १२५ वटा स्टलहरु रहने आयोजक नेपाल हस्तकला महासंघले बुधबार पत्रकार सम्मेलनमा जानकारी दियो। मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिने जनाइएको छ। जसअनुसार भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट सहभागिता रहने महासंघले जनाएको छ। व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला संघ र वस्तुगत संघहरु समेतको सहभागिता रहनेछ। महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन्। यस्तै, प्राकृतिक रेसा र बाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्रीमा रहनेछन्।

अनलाइनखबरका अनुसार मेलाको प्रमुख आकर्षणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ। जसअन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’मा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहनेछ। मेलाको अवसरमा आर्थिक वर्ष २०७९-८०को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुर्‍याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने उल्लेख छ ।

 मेलाको तेस्रो दिन ७० वर्ष नाघेका अग्रज कलाकारलाई सम्मान गर्ने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा १० जना अग्रज कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम छ। मेलाकै सन्दर्भमा हस्तकलाका विविध विधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार व्यवसायलाई प्रवर्द्धन गराउने उद्देश्यले महासंघको कला प्रदर्शनी समितिबाट कला प्रदर्शनी-२०८० आयोजना गरिने जनाइएको छ ।

 एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन हुने उल्लेख छ । यस्तै परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत सांस्कृतिक सम्पदाको उजागर गर्ने मेलाको लक्ष्य रहेको छ। मेलाबाट अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर प्राप्त गर्न महासंघ अध्यक्ष शाक्य बताउनुहुन्छ। यसरी प्रत्येक वर्ष व्यापार मेलाको आयोजना हुँदा उत्पादकहरुले निकासीजन्य नौलो वस्तुको उत्पादन गर्न प्रेरित हुने तथा हस्तकला क्षेत्रमा रहेको सीप, कला र प्रविधिबारे जानकारी आदानप्रदान हुने महासंघको विश्वास छ।