आरोहणका लागि एक हजार ३२९ ले लिए अनुमति
2023-12-09 15:59:56cri
Share with:

शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू रहेका छन् । उहाँले भन्नुभयो, “अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।”

गोरखापत्र अनलाइनका अनुसार मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेका छन् । यो सिजनको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार यस पटक विभिन्न छ मुलुकका २२ जनाले नेपालका हिमालबाट स्की गर्नका लागि अनुमति लिएका छन् । स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक रहेका छन् । उनीहरूले हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन् ।

स्कीका लागि फ्रान्सका १५, फिनल्यान्डका एक, अमेरिकाका दुई, नेपालका तीन र नर्वेका एक जनाले अनुमति लिएका छन् । स्कीको अनुमति लिएकामध्ये फ्रान्सका तीन जना र एक फिनल्यान्डका एक जना महिला छन् । विभागले हिमलुङ, धवलागिरि, मनासलु, रत्नचुली, पुथा हिउँचुली, एभरेस्टलगायतका हिमालमा स्की अनुमति दिँदै आएको छ । विभागले तोकिएको हिमाल क्षेत्रमा स्की खेल्न फोहोरमैला व्यवस्थापनका लागि ५ सय डलर र स्कीका लागि १० जनासम्मको एक समूहले हजार डलर रोयल्टी लाग्छ।