अंग्रेजी नयाँ वर्षमा पोखरामा हुने सडक महोत्सवका लागि अनलाइन टिकटको व्यवस्था
2023-12-10 16:16:21cri
Share with:

अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा अनलाइनबाट टिकट काट्न सकिने भएको छ । महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने छ ।महोत्सव आयोजनाको २५ औं वर्षको अवसर पारेर पहिलो पटक आयोजकले अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको हो।

साँस्कृतिक कार्यक्रमका लागि खल्ती एपबाट टिकट काट्न मिल्ने व्यवस्था मिलाइएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो। ‘खल्ती एपसँगै विदेशी कार्डहरुबाट पनि आफन्त तथा साथीभाइका लागि टिकट काट्न सकिन्छ,’ अध्यक्ष भट्टराईले भन्नुभयो । दर्शकले कार्यक्रम आयोजना हुने स्थानबाट सोझै टिकट काट्दा मूल्य बढी लाग्ने तर अनलाइनबाट टिकट काट्दा केही सस्तो हुने उहाँको भनाइ छ ।

अनलाइनखबरका अनुसार महोत्सवमा सहभागी हुन पोखरा आउने पर्यटकहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने छन् । महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने छ ।

यो वर्षको महोत्सवमा डुंगा रेस, वेटर रेस, विभिन्न समुदायको झाँकी, कन्सर्ट, आतिस बाजी (फायरवक्स)सँगै अन्य विभिन्न नयाँ कार्यक्रम हुने भएकाले महोत्सव अवधिभर पोखरा आउनेहरुले पूर्ण मनोरञ्जन प्राप्त गर्ने जनाइएको छ।

पोखरामा सडक महोत्सव हरेक नयाँ वर्षमा हुँदै आएको छ । पर्यटन विकासमा यो महोत्सवले विशेष आकर्षण बढाउने काम गर्दै आएको छ ।