फलाम उत्खननका लागि अध्ययन
2023-12-10 16:15:48cri
Share with:

रुकुमपूर्व जिल्लाको भुमे गाउँपालिकामा फलाम खानी पत्ता लागेपछि भूगर्भविद्ले बिहीबारबाट उत्खननका लागि विस्तृत अध्ययन सुरु गरेका छन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको टिमले भुमे गाउँपालिका–३, झुम्लाबाङमा पत्ता लागेको फलाम खानीको अध्ययन सुरु गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

 भुमे गाउँपालिकाका विभिन्न वडामा यसअघि पत्ता लागेको फलाम खानीको विस्तृत अध्ययन सुरु गरिएको भुमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो। हाल फलाम खानी पत्ता लागेको ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन गरिएको स्थानीयको भनाइ छ । त्यतिबेला तामा खानी उत्खनन गर्दा भुमे–२, ३, ४ र ५ का विभिन्न ठाउँमा बनेका ठुल्ठुला खाडल र सुरुङ अहिले पनि रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो। ती ठाउँमा गत वर्ष फलाम रहे/नरहेको अनुसन्धान गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननका लागि विस्तृत अध्ययन सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। अध्यक्ष श्रेष्ठले भन्नुभयो, “खानी तथा भूगर्भ विभागका अनुसार प्रारम्भिक अध्ययनबाट झुम्लाबाङमा मात्र नेपाललाई नै ५०/६० वर्षसम्म धान्न सक्ने फलाम खानी रहेको पत्ता लागेको छ ।” हरेक वर्ष नेपालले अन्य देशबाट दुई खर्ब रुपियाँ बराबरको फलाम खरिद गर्ने गरेको छ । 

हालसम्म खानी तथा भूगर्भ विभागले तीन पटक अध्ययन गरेका छन् । अबको विस्तृत अध्ययनपछि के कसरी फलाम उत्खनन गर्न सकिने, उत्खननको लागत, फलाम के कति रहेको यकिन परिमाण पत्ता लाग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । हालसम्मको अध्ययन अनुसार तामा खानी आसपासमा तामाभन्दा फलामको मात्रा बढी रहेको बताइएको छ।

भुमे गाउँपालिका फलाम र तामा खानीले भरिपूर्ण रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ।