क्यान्सरका बिरामीलाई अब नेपालमै टोमोथेरापी सेवा
2023-12-12 16:04:11CRI
Share with:

विश्वमै महँगो मानिने टोमोथेरापी सेवा नेपालमै पहिलोपटक वीर अस्पतालले २ पुसदेखि सुरु गर्दै छ । तीन महिनाअघि भित्र्याइएको ४० करोडको टोमोथेरापी मेसिन जडान गरेर ‘इन्स्टल’समेत भइसकेकाले सेवा सञ्चालनको तयारी गरेको नयाँ पत्रिका अनलाइनले लेखेको छ ।

सुरुमा २०७५ मै टोमोथेरोपी मेसिन ल्याइए पनि जडान गर्ने ठाउँको अभावमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा राख्दा खिया लागेर बिग्रिएको थियो । पछि वीरले सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड सप्लायर्ससँग मेसिन अस्वीकार गर्ने निर्णय गरेपछि उसले १८ भदौमा अकुरे कम्पनीको नयाँ मेसिन ल्याएर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले अहिले मेसिन जडान सकेर भारतीय प्राविधिकबाट नेपाली जनशक्तिलाई उपकरण चलाउन सक्ने तालिम पनि दिलाइसकेको जानकारी दिनुभयो । ‘अब सबै तयारी पूरा भइसकेको छ, हामीले यसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे आन्तरिक छलफल मात्रै गर्न बाँकी छ,’ उहाँले भन्नुभयो, ‘मेसिन फिट गरेर सञ्चालनको लागि तयारी पूरा भइसक्यो । सबै काम अब यहीँको जनशक्तिले गर्न सक्छ ।’

बिरामीको शरीरका भित्री कोष तथा नलीहरूमा हुने सूक्ष्म क्यान्सरको समेत उपचारमा यो मेसिन प्रभावकारी मानिन्छ । रेडियो थेरापीभन्दा निकै उच्चस्तरको यो उपकरणबाट निस्किने विकिरण (रेडियसन)ले क्यान्सर लागेको ठाउँका सेलहरू मात्रै मार्छ । यसले कपालको रौँबराबरको कोषलाई पनि छुट्याएर क्यान्सर लागेको र नलागेको वर्गीकरण गर्न सक्छ भने यसको प्रयोग गर्दा क्यान्सरले नछोएका सेलहरू मर्ने सम्भावना नहुने चिकित्सकहरू बताउँछन् ।

रेडियो थेरापीले भने क्यान्सर लागेको ठाउँमा विकिरण पठाउँदा अन्य ठाउँका सेल पनि मार्ने बढी सम्भावना हुन्छ । रेडियो थेरापीमा कतिपय अवस्थामा क्यान्सर निको भएको ठानिए पनि फेरि ब्युँतिने गर्छ भने टोमोथेरापीले विकिरण दिँदा क्यान्सर पूर्ण निको हुने बताइन्छ ।

अत्याधुनिक यो सेवा लिन नेपालका कयौँ बिरामी भारत पुग्ने गरेका छन् । भारतका निजी अस्पतालमा टोमोथेरापी सेवा लिन कम्तीमा पाँच लाख भारतीय रुपैयाँ (आठ लाख नेपाली रुपैयाँ)तिर्नुपर्छ । तर, वीरले डेढ लाखमै यो सेवा दिने गरी सञ्चालनको तयारी गरेको न्याम्सका उपकुलपति बस्नेतले बताउनुभयो।