नेपालमा पर्यटक भित्र्याउन शाङहाई चेम्बरले सघाउने
2023-12-12 15:42:16CRI
Share with:

नेपालमा पर्यटक बढाउन चीनको शाङहाई चेम्बर अफ कमर्स र टुरिजम बोर्ड हाङ्चौ सिटीले सहयोग गर्ने भएका छन् । एमाले नेता कमल गौतमको नेतृत्वमा चीन भ्रमणमा गएको टेलीसँगको छलफलमा शाङहाई चेम्बरले उक्त प्रतिबद्धता जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

शाङहाई चेम्बर अफ कमर्सका तर्फबाट मिस चियोले राखेको वार्तामा नेपाल र चीनमा पर्यटकीय विकाससँग सम्बद्ध विषयमा छलफल भएको थियो । यसैगरी टुरिजम बोर्ड हाङ्चौ सिटी अध्यक्ष मिस ओयोले राखेको वार्तामा नेपालका लुम्बिनी, पोखरा र हिमालयन क्षेत्रमा पर्यटन भित्र्याउन आपसमा सहयोग गर्ने विषयमा छलफल भएको पनि नेता गौतमले जारी गरेको विज्ञप्तिमा बताइएको छ।

पर्यटकलाई आवश्यक आवतजावतमा सहयोग गर्न आफ्नो कम्पनी हिमालय एयरलाइन्सले सघाउने पनि एयरलाइन्सका जनरल म्यानेजर एनले जनाएको पनि विज्ञप्तिमा जनाइएको छ । नेपालको विकासका लागि आफ्नो कम्पनी सहयोगी हुने उहाँको भनाइ छ ।

यही डिसेम्बर २ मा हिमालय एयरबाट नेपाली टोली शाङहाई गएको थियो । टोलीले हुचौ सिटीको कम्युनिस्ट पार्टीका नेता च्याङले राखेको द्विपक्षीय वार्तामा नेता गौतमले इतिहासदेखि नै चीनसँग राम्रो सम्बन्ध भएको र २६ सय वर्षअघि जन्मिएका भगवान् गौतम बुद्धको जन्मभूमि हेर्न आउन चिनियाँ पर्यटकलाई आग्रहसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्यागोडा शैलीमा अरनिकोले चीनमा बनाएका मन्दिर, राजकुमारी भृकुटी र स्रङचङ गम्पोबारे पनि चर्चा भएको बताइएको छ । कोभिडका बेला बन्द चिनियाँ नाका खोलिनुपर्ने र युरोप, अमेरिकाले पढ्न र काम गर्न दिएको सुविधा चीनले पनि उपलब्ध गराउनुपर्नेमा जोड दिइएको पनि जनाइएको छ ।