भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्यमा हस्ताक्षर
2023-12-13 15:35:20CRI
Share with:

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सछ्वान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ।

लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणका अवसरमा भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र लशान नगरपालिका जनसरकारका प्रमुखको अनुमतिमा उपप्रमुख लेइ चियनसिनद्वारा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको भक्तपुर नगरपालिकाले आफ्नो फेसबुक पृष्ठबाट जानकारी दिएको छ।

भक्तपुर नगरपालिका र चीनको सछ्वान प्रान्तको लशान नगरपालिकाबीच भएको फलदायी छलफलपछि यी दुई नगरपालिकाहरूबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरी भविष्यमा दुई नगरपालिकाहरुबीच पारस्परिक सम्बन्ध विकास र विस्तारका कार्यहरुलाई अगाडि बढाउने उद्देश्यका साथ उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

समानता र पारस्परिक लाभका आधारमा दुई नगरपालिकाले अर्थतन्त्र, व्यापार, संस्कृति, शिक्षा, पर्यटन, स्वास्थ्य, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा विभिन्न प्रकारका सहकार्य र आदानप्रदान गरिने र आदानप्रदानको प्रगतिको आधारमा दुवै नगरपालिकाले उपयुक्त समयमा अन्तर्राष्ट्रिय भगिनी सहर सम्बन्धको स्थापनालाई अगाडि बढाउन मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरिएको हो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरी भविष्यमा पारस्परिक हित हुने गरी सहकार्य र सहयोग गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो।

प्रमुख प्रजापतिले समझदारी पत्रमा उल्लेख भएबमोजिम दुइ नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा सहयोग आदानप्रदान हुने आशा व्यक्त गर्नुभयो।

त्यस्तै लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनले दुई नगरबीचको मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबाट हुने आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले दुवैको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

लशान सिचुवान प्रान्तकै विकासको सम्भावना बोकेको नगरपालिकाको रुपमा विकास भइरहेको अवगत गराउँदै उपप्रमुख चियनसिनले मैत्रीपूर्ण सम्बन्ध स्थापनाबाट दुई नगरबीच हुने कृषि, सम्पदा संरक्षण, सांस्कृतिक पर्यटन आदानप्रदानले दुवै नगरको आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनुभयो।

भक्तपुर अवलोकनको क्रममा भक्तपुर नपाले जनताको लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कलेज र अस्पताल सञ्चालनबाट आफूहरु निकै प्रभावित भएको बताउँदै भक्तपुरको सम्पदा पुनःनिर्माण कार्य निकै स्वागतयोग्य भएको बताउनुभयो।

समझदारी पत्र हस्ताक्षर समारोहमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरु, नपाबाट सञ्चालित कलेजका प्रमुखहरु तथा नगरका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो। सोही समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी लशान नगर समितिका शैक्षिक कार्य समिति सहसचिव लिउ यउज्युन, चिनियाँ कम्युनिष्ट पार्टी लशान नगर समितिको संस्कृति, रेडियो र पर्यटन ब्युरोका योजना प्रमुख लिऊ सियाओफाङ, चिकपा लशान नगर स्वास्थ्य आयोगका उपनिर्देशक याड्ड यान, चिकपा लशान नगर समितिको आर्थिक सहकार्य तथा परराष्ट्र मामिला ब्युरोका उपनिर्देशक यु लिवन, चिकपा लशान नगर समितिका सदस्य एवम् लशान विशाल बुद्ध अवलोकन क्षेत्रका प्रमुख तथा लशान विशाल बुद्ध अवलोकन क्षेत्र अनुसन्धान संस्थानका अध्यक्ष फान युआनयुआनलगायतको उपस्थिति रहेको थियो।

यसअघि टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्रको अवलोकन गर्नुभएको थियो। उहाँहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप कलेज अफ इन्जिनियरिङको पनि स्थलगत अवलोकन गरी त्यहाँको वस्तुगत अवस्थितिबारे जानकारी लिनुभएको थियो।

लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्वागत गर्नुभएको थियो भने नगर प्रमुख सुनिल प्रजापतिसँग भनपा सभाकक्षमा भेटवार्ता भएको थियो।