सुनकोशीमा बाँध निर्माण तीव्र
2023-12-13 15:47:00CRI
Share with:

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ।  बाँध निर्माणस्थलको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा स्थलगत निरीक्षण गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

सो अवसरमा आयोजना प्रमुख मित्र बरालले सो आयोजनाको १३.३ किलोमिटर लम्बाइको सुरुङ तीव्र गतिमा निर्माण भइरहेको र सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माणको काम सुरु भएको जानकारी दिनुभयो।

गत वर्ष असोज २८ देखि खन्न सुरु गरिएको सुरुङ हालसम्म साढे १० किलोमिटर लम्बाइ निर्माण भइसकेको र सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको आयोजना प्रमुख बरालले सुनाउनुभयो।

उहाँले पटेल रमण जेभीले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी बाँध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा २०७९ साल माघमा सम्झौता गरेको र सुनकोशी नदीमा पानीको बहाव बढेकाले बाँध निर्माण समयमा नै हुन नसकेको बताउनुभयो। 

२०८४ सालको असोजमा आयोजनाको पूरै काम सक्ने योजनाका साथ निर्माण कार्य भइरहेको उहाँको भनाइ थियो। आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकामा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको उहाँले बताउनुभयो। 

दोस्रो चरणको काम अन्तर्गत बाँध निर्माणको काम अगाडि बढाइएको हो। सुरुङ निर्माणको काम २०७९ साल असोज २८ देखि सुरु भएको थियो। सुरुङ निर्माणको अवधि २२ महिनाको रहेको छ।

सुनकोशी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिने छ। आयोजनाबाट ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने छ। मरिण खोलामा पानी खसालेपछि त्यही पानी प्रयोग गरी थप ४० देखि ५० मेगावाट विद्युत् निकाल्ने गरी नयाँ अवधारणा ल्याई अध्ययन भइरहेको छ। उत्पादित विद्युत् ३७.२ डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत नवलपुर सबस्टेसनमा जोडिने छ।