तातोपानीका ३३ सय घरधुरीको बीमा
2023-12-13 15:58:12CRI
Share with:

भूकम्पीय जोखिम, बाढी पहिरोले गर्ने क्षतिलाई न्यूनिकरण गर्न घरबीमा कार्यक्रम सुरु गरिएको छ। जुम्लाको तातोपानी गाउँपालिकाले घरबीमा कार्यक्रम सुरु भएको हो। उक्त गाउँपालिकाका ३३ सय घरधुरीको घरबीमा गरिएको छ। बढ्दो भुकम्पीय जोखिम र त्यसले गर्ने क्षतिलाई मध्येनजर गर्दै तातोपानीले पालिकाभरिकै एकदेखि आठ नम्बर वडासम्मका घरधुरीको बीमा गरेको कारोबार अनलाइनले लेखेको छ।

सोमबार शिखर इन्स्योरेन्स कम्पनी जुम्लासँग पालिकाले घर बीमाको सम्झौता गरेको हो। पालिकाका कुनै घरधुरी नछुट्ने गरि एकमुष्ट ३३ सय घरधुरीको बीमा गरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो। उहाँले भन्नुभयो, ‘विपद आएर क्षति भइसकेपछि पालिकाले दिएको १०/१५ हजार राहतले कुनै आवश्यकता पूर्ति हुने देखिएन्। सबैलाई थौरै थोरै राहत दिनुभन्दा एकमुष्ट बीमा गरिदिएपछि नागरिक पनि ढुक्क पालिका पनि ढुक्क। थोरै राहत दिने झन्झटनै हट्यो।’

राहत दिने रकम नै बीमामा लगानी गरिएको छ। अब केही विपद्बाट घर भत्किएको खण्डमा नागरिकले उचित राहत पाउने छन्। बाढी पहिरोपछि राहत वितरणमा ढिलाइ हुने, तथ्यांक संकलनमा महिनौ बित्ने, तत्काल राहत नपाएको भन्ने गुनासो उतिकै आउने समस्या रहेकोले घरको बीमा गरेपछि सबै समस्याबाट मुक्त हुने अध्यक्ष चौलागाईंले बताउनुभयो।

जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानीले पहिलो घरबीमा कार्यक्रम ल्याएको हो। यद्यपि फाटफुटमा अन्य पालिकाका केही घरहरुको बीमा भए पनि समग्र पालिकाकै घरबीमा गर्ने तातोपानी पहिलो बनेको छ। घरबीमाका लागि पालिकाले प्रतिवर्ष करिब साढे १५ लाख रुपैयाँ लगानी गर्नुपर्ने देखिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो।

उहाँका अनुसार बीमापछि विपन्न नागरिकलाई बढी राहत हुने छ। बीमा कम्पन्नीसँग सम्झौता भइसकेको र केही दिनमा भुक्तानी दिइने उहाँले बताउनुभयो। शिखर इन्स्योरेन्सका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले पालिकाभरिकै घर बीमा गर्ने जुम्लामा तातोपानी पहिलो पालिका बनेको बताउनुभयो। विभिन्न खाले जोखिम बढ्दो क्रममा छन्। उनले भने, ‘सामान्य राहत दिनुभन्दा बीमा गरेकै ठिक। तातोपानीका ३३ सय घरधुरीले अब पाँच लाख बराबर क्षतिपूर्ति पाउने छन्। जसका लागि प्रतिघरधुरी ४ सय ६६ रुपैयाँका दरले पालिकाले प्रिमियम रकम तिरिदिने छ।’

३३ सय घरधुरीका लागि प्रतिघरलाई चार सय ६६ रुपैयाँका दरले १५ लाख ३७ हजार ८ सय रुपैयाँ प्रिमियम शूल्क लाग्ने छ। त्यसवापत नागरिकले कुनै विपद्बाट क्षति भएमा पाँच लाख क्षतिपूर्ति पाउने इन्चार्ज पाण्डेको भनाइ छ। यद्यपि बढी क्षतिपूर्ति पाउन बीमा स्वयं घरधुरीले बढाउन सक्ने छन्। हाल जुम्लामा एक हजार चार सय घरको घर बीमा गरिएको थियो। त्यसमा थपिएको ३३ सयसँगै जुम्लाका कुल चार हजार सात सय घरको घरबीमा गरिएको छ।