गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउन दबाब
2023-12-14 15:55:10CRI
Share with:

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि रूपन्देहीस्थित निजी क्षेत्रका संघसंस्थाले एक महिनायता निरन्तर दबाब दिइरहेका छन् । विमानस्थल चौबिसै घण्टा खुला रहे पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदा यहाँका पर्यटन व्यवसायी र लगानीकर्ता निराश भएका कान्तिपुर अनलाइनले लेखेको छ।

उद्योगीहरूका अनुसार विमानस्थललाई लक्ष्य गरेर सञ्चालनमा आएका स्तरीय र तारे होटलमा अहिलेसम्म ४० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेपछि उत्साहित यहाँका उद्योगी, व्यवसायी अहिले नियमित उडान माग गर्दै जिल्लादेखि केन्द्रसम्म धाइरहेका छन् । केही संस्थाले प्रदर्शन र धर्ना कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् ।

जिल्लामा केन्द्रीय नेता, मन्त्री, प्रधानमन्त्री आउनासाथ विमानस्थलमा नियमित उडान सञ्चालनको माग गरेर ज्ञापनपत्र बुझाउने गरिएको छ । यस्ता माग र दबाबका कार्यक्रम गरेपछि राजनीतिक दलका नेता र सरकारका मन्त्रीले विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने आश्वासन दिने गरेका छन् । तर यस्ता प्रतिबद्धता र आश्वासनबाट उत्साहित व्यवसायी वचन पालना नभएपछि निरुत्साहित छन् ।

जिल्लामा आउने मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापन र ध्यानाकर्षणपत्र बुझाइएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले पनि पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशका मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेका छौं । अब राजनीतिक दलका जिल्ला, प्रदेश र संघका नेतालाई दबाब दिने तयारी छ ।’ निजी क्षेत्रका संघसंस्थाले भैरहवामै भिसा सेन्टर स्थापना, श्रम अनुमति सेवा नियमित, स्वास्थ्य परीक्षण व्यवस्था गर्न माग गरेका छन् । यस्ता सेवा यहाँ नहुँदा काठमाडौं जानुपर्ने बाध्यता छ । यी सेवा लिन काठमाडौं पुगेका व्यक्ति उतैबाट विमान चढेर बाहिरिने गरेका छन् ।

जिल्लामा बारम्बार आइरहेका पर्यटनमन्त्री सुदन किराँतीलाई भेटेर नियमित उडानका लागि दबाब दिइरहेको संघले जनाएको छ । तीन महिनाअघि रूपन्देहीबाट प्रदेश र संघमा प्रतिनिधित्व गर्ने प्रदेश र प्रतिनिधिसभा सदस्यलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय उडान नियमित गराउन भूमिका खेल्न ध्यानाकर्षण गराइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । चर्को आन्दोलनका कार्यक्रमले विमानस्थलप्रति अन्तर्राष्ट्रिय समुदायको नकारात्मक धारणा बन्ने भएकाले ज्ञापन, ध्यानाकर्षण र छलफलमा जोड दिइएको उहाँको भनाइ छ ।

‘विमानस्थल भैरहवाको मात्रै मुद्दा रहेन,’ उहाँले भन्नुभयो, ‘यहाँ नियमित उडान सञ्चालन भएमा लुम्बिनीका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले समेत लाभ लिनेछन् ।’

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स (नाटा) लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीको नेतृत्वमा एक टोलीले गत साता संघीय राजधानी काठमाडौं पुगेर विमानस्थलमा नियमित उडानका लागि सरोकारवाला पक्षसित भेटघाट गरेर दबाब दिएको थियो । जिल्लामा हल्ला मात्र धेरै भएकाले सरोकारवाला पक्षलाई दबाब दिने र भैरहवाको वस्तुस्थिति बुझाउने उद्देश्यले काठमाडौं पुगेको अधिकारीले बताउनुभयो । त्यस क्रममा नेपाल एयरलाइन्सका साथै विभिन्न विदेशी विमान सञ्चालक कम्पनीमा पुगेर भैरहवामा नियमित उडान सञ्चालन गर्न अनुरोध गरिएको र विदेशी विमान कम्पनीको गुनासा सुनेको उहाँको भनाइ छ ।

भेटका क्रममा विमान कम्पनीले सरकारले नियमित उडानका लागि सहुलियत नदिएको, इन्धनमा छुट नपाएको, उडानका लागि आवश्यक कार्यालय र उपकरण जडानका लागि ल्याउनुपर्ने सामानमा भन्सार छुट नपाएको लगायत गुनासो गरेको अधिकारीले सुनाउनुभयो। ‘हामीले विदेशी विमान कम्पनीले पोखेका गुनासा पर्यटनमन्त्रीलाई सुनायौं,’ उहाँले भन्नुभयो, ‘पर्यटनमन्त्रीले सरकार–सरकार वार्ता गरेर भए पनि उडान नियमित गराउने आश्वासन दिनुभएको छ ।’ भैरहवाबाट उडान भर्दा विमान कम्पनीले प्रतियात्रु नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २२ डलर छुट दिन मन्त्रालय तयार भएको उहाँको भनाइ छ ।

भैरहवामा नियमित उडान सञ्चालनका लागि विदेशी विमान कम्पनी र काठमाडौंका निजी संघसंस्थालाई सहजीकरण गर्न पाँचतारे होटल सञ्चालक सहभागी रहेको एउटा समिति बनाउन लागिएको अधिकारीले बताउनुभयो। यहाँ विमान ल्याउने चालक दल र कर्मचारीलाई छुटमा खाना र आवासको व्यवस्थाका लागि पाँचतारे होटलसित सहकार्य गर्न लागिएको उहाँको भनाइ छ । विमानस्थलमा नियमित उडान नभए लगानी डुब्ने भन्दै एसियाली विकास बैंक (एडीबी) को कार्यालयमा पुगेर भूमिका खेल्न ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । अधिकारीका अनुसार नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक र एडीबीका प्रतिनिधिले विमानस्थलमा नियमित उडानका लागि प्राविधिक समस्या नरहेकाले नियमित उडानका लागि पहल गर्ने बताएका थिए ।

‘व्यवसायीको समूह बनाएर दबाब दिइरहेका छौं,’ उहाँले भन्नुभयो, ‘काठमाडौं गएपछि आशावादी भएर फर्किएका छौं, दबाबलाई निरन्तर जारी राख्नेछौं र सहजीकरणमा भूमिका खेल्नेछौं ।’ आइतबारदेखि तीन दर्जनभन्दा बढी व्यावसायिक संघसंस्था र जनप्रतिनिधिको सहभागितामा गौतम बुद्ध विमानस्थल अगाडि दैनिक दुई घण्टा धर्नाको कार्यक्रम भइरहेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो।

‘नियमित उडान सञ्चालन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहन्छन्,’ श्रेष्ठले भन्नुभयो, ‘चाहे सरकारले थुनोस्, कारबाही गरोस्, हामी माग पूरा नगरी धर्नाबाट उठ्दैनौँ ।’ यसबीचमा मन्त्री र प्रधानमन्त्रीलाई समस्या जानकारी गराएर नियमित उडानका लागि ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले आन्दोलित बन्नुपरेको उहाँले बताउनुभयो।

गौतम बुद्ध विमानस्थल अहिले पनि अन्तर्राष्ट्रिय उडानका लागि चौबिसै घण्टा खुला रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जनाउनुभयो। विमानस्थल सञ्चालन भएको डेढ वर्ष अवधिमा ४ सय २२ पटक अन्तर्राष्ट्रिय उडान भइसकेको उहाँको भनाइ छ । ‘नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि नीतिगत निर्णय गरेर हुन्छ भने सहजीकरणका लागि तयार छौं,’ पाण्डेले भन्नुभयो।

नेपालबाट अहिले दैनिक औसत ५० विमानले उडान, अवतरण गरिरहेको अवस्थामा भैरहवालाई चलायमान बनाउन उडान थप गरिनुपर्ने उहाँले बताउनुभयो। ‘अब अनुमति दिइने थप उडान भैरहवाबाट गराउनुपर्‍यो,’ उहाँले भन्नुभयो, ‘नेपालबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान अनुमति लिने नयाँ विमान कम्पनीको बेस भैरहवा बनाउन सकिन्छ । त्यसले नियमित उडान रोकिँदैन ।’