ताक्ची खोलामा झोलुङ्गेपुल निर्माणपछि लिमीवासीलाई सहज
2023-12-15 16:03:20CRI
Share with:

हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। उक्त खोलाको तुम्लीङमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको गोरखापत्र अनलाइनले लेखेको छ। 

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले तुम्लिङमा नयाँ झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नु पर्ने बाध्यता हटेको बताउनुभयो। सो पुल निर्माण नहुँदा यसअघि लिमीका बासिन्दाहरूले पाँच जना भन्दा बढी मानिस मिलेर हात समातेर खोला तर्ने गर्दै आउनु भएको थियो। उहाँले लिमीवासीलाई खोला तर्नुपर्ने बाध्यता मात्र नहटेर दुई घण्टा बाटो छोटिएको बताउनुभयो। बर्खा याममा त उक्त खोला तर्न नसकिने भएको कारण लिमीका स्थानीयले एक दिन बाटो हिँडेर लिमी आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ। त्यसैगरि लिमीका पशुवस्तुलाई चरनका लागि सो खोला तर्नुपर्ने बाध्यता पनि हटेको छ। सो खोलामा पुल नहुँदा हालसम्म लिमी पच्चीसभन्दा बढी  गाईवस्तुलाई खोलाले बगाएको उहाँले बताउनुभयो। उहाँले पुल बनेपछि लिमीवासीको वर्षौँ देखिको माग समेत पूरा भएको छ। 

सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले २०७८ सालमा निर्माण कार्य सुरु गरेर २०८१ असार मसान्तमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। १२२ मिटर लामो उक्त पुल निर्माणका लागि सामाग्री ढुवानी गरेर लैजान निर्माण कम्पनीलाई लामो समय लागेको थियो। उहाँले निर्माण सामग्री ढुवानी गरेर निर्माण स्थलमा पुर्‍याएपछि चार महिनामा पुलको निर्माण कार्य पुरा भएको बताउनुभयो। उक्त झोलुङ्गे पुल निर्माणका लागि डिभिजनले भ्याटबाहेक दुई करोड बजेट लगानी गरेको हो।