नेपालमा चार महिनामा चार खर्ब ७७ अर्ब रेमिटेन्स भित्रियो
2023-12-15 15:48:41CRI
Share with:

चालु आर्थिक वर्षको सुरुदेखि बढ्दै आएको रेमिटेन्स (विप्रेषण) आप्रवाह चार महिनामा चार खर्ब ७७ अर्ब करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिकसम्ममा रेमिटेन्स आप्रवाह ४ खर्ब ७७ अर्ब भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा २०.४ प्रतिशतले बढेको रेमिटेन्स चालु आवमा २६.४ प्रतिशतले बढेको कारोबार अनलाइनले लेखेको छ।

अघिल्लो आवको पहिलो चार महिनामा ३ खर्ब ७८ अर्ब रेमिटेन्स भित्रिएको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। चालु आवको पहिलो महिना साउनमा रेमिटेन्स २५.८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब पुगेको थियो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो। चालु आवको भदौमा २२.१ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब रेमिटेन्स भित्रियो। अघिल्लो वर्षको सोही अवधिमा १९.८ प्रतिशतले बढेको थियो। यसैगरी असोजमा ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब रुपैयाँ भित्रिएको थियो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो। चालु आवको सुरूवातदेखि नै बढ्दो ट्रेन्डमा रहेको रेमिटेन्स चौथो महिनासम्म बढ्दै गएको तथ्यांकले देखाएको छ। पछिल्लो समय रोजगारीका लागि बाहिरिने बढेसँगै रेमिटेन्स पनि बढेको हो। सामान्यतयाः रोजगारीमा गएको करिब ४ महिनापछि नेपालमा उनीहरूले रेमिटेन्स पठाउने गर्छन्। अहिलेको तथ्यांक पनि करिब ३/४ महिनाअघि विदेशिनेहरूले पठाएको रेमिटेन्स भएको जानकारहरूको भनाइ छ। नेपाली मुद्रा विप्रेषक संघका उपाध्यक्ष रितेश मित्तलले पछिल्लो समय रोजगारीमा जानेहरू बढेकाले पनि रेमिटेन्स भित्रिने क्रम बढेको बताउनुभयो। नेपालको अर्थतन्त्रको रक्तसञ्चार मानिने रेमिटेन्स वृद्धि उल्लेख्य भएको उहाँको भनाइ छ।

पछिल्लो समय रेमिटेन्स कम्पनीहरूमार्फत भने कम रेमिटेन्स आइरहेको भन्दै अहिले २६ प्रतिशतले बढ्ने अपेक्षा नै नभएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यसरी ठूलो प्रतिशतमा बढेको छ भन्ने सोचेका थिएनौं। हाम्रा कम्पनीहरूबाट यसरी आइरहेको छैन। विदेशिने क्रम बढ्दो छ। रोजगारीमा गएकाहरूले रेमिटेन्स पठाइरहेका छन्। नेपालमा सुस्त अर्थतन्त्र हुँदा उताबाट बढी मात्रामा रेमिटेन्स भित्रिएको हो।’ खासगरी अहिले नेपालमा अर्थतन्त्र सुस्त हुँदा उपभोक्ताको क्रयशक्ति ह्रास हुँदै गएको छ। यो अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरूले सामान्य घर खर्चका लागि पनि रेमिटेन्स पठाइरहेको पाइन्छ। साथै चाडपर्वको समय भएकाले पनि रेमिटेन्स बढी भित्रिएको जानकारहरू बताउँछन्।

चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या भने घटेको छ। केन्द्रीय बैंकका अनुसार चालु आवको कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रमस्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ थियो।