बाँकेमा सोलारबाट बिस मेगावाट विद्युत्
2023-12-16 16:08:22CRI
Share with:

बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको गोरखापत्र अनलाइनले लेखेको छ। 

गोल्यान समूहको लगानी रहेको प्योर इनर्जी लिमिटेड अन्तर्गत निर्माण गरिएको सोलार विद्युत् परियोजनाका परियोजना प्रबन्धक चन्द्रभान यादवले २० मेगावाट विद्युत् उत्पादनका ब्लक १ र ब्लक २ गरी दुई आयोजना निर्माण सुरु गरिएकोमा ब्लक २ गत चैतमै सम्पन्न भई १० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताउनुभयो। ब्लक १ को १० मेगावाट अहिले उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उहाँले बताउनुभयो। 

उहाँले हाल रनियापुरमा निर्माण सम्पन्न भएको परियोजनाको र उत्पादन कार्य पहिलो पटक नेपाली कम्पनी नेक्सस इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरेको बताउनुभयो। सो कम्पनी प्योर इनर्जी लिमिटेड अन्तर्गतको नेपाली निर्माण कम्पनी हो। 

यसअघि गत चैतमा सम्पन्न निर्माण र विद्युत् उत्पादनको काम भारतीय कम्पनीमार्फत गराइएकोमा पहिलो पटक कुनै नेपाली निर्माण कम्पनीले सोलार उत्पादन गरेको परियोजना प्रबन्धक यादवले बताउनुभयो। नेपाल विद्युत् प्राधिकरणका केन्द्रीय प्रतिनिधिहरू सुव्रत अर्याल र सीताराम सिग्देलको उपस्थितिमा हाल उत्पादन भएको १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्रबन्धक यादवले बताउनुभयो। सो अवसरमा कोहलपुर वितरण केन्द्रका इन्जिनियर जितेन्द्र शाहको पनि उपस्थिति थियो। 

गोल्यान समूहका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्न छ वटा सोलार विद्युत् आयोजनाको निर्माण सुरु गरिएकामा बाँकेका दुई आयोजना सम्पन्न भई २० मेगावाट उत्पादन भएको बताउनुभयो। 

दाङ जिल्लाको सतबरियामा निर्माणाधीन दुई आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने तथा कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट पनि दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम गरिरहेको उहाँले बताउनुभयो।