चीनको क्वाङतोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनी भ्रमणमा
2023-12-16 15:36:15CRI
Share with:

चीनको क्वाङतोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइचिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ। बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण सहित नेपाल र चीनबीचको संस्कृति आदान प्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरणका लागि ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुँदै लुम्बिनी आएको अनलाइन खबरले लेखेको छ।

चिनियाँ टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत गरेको थियो। सो अवसरमा क्वाङतोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइचिङले नेपाल र चीनबीच सदियौंदेखि सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको संस्कृति आदान प्रदान र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धनका लागि मैत्रीपूर्ण भ्रमणमा आएको बताउनुभयो।

क्वाङतोङ चीनको उच्च जनघनत्व भएको प्रान्त भएकाले आफ्नो टोलीको भ्रमणले त्यहाँका बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भ्रमणमा प्रेरणा मिल्ने रुइचिङले बताउनुभयो। चिनियाँ टोलीलाई स्वागत गर्दै नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले गौतमबुद्ध विमानस्थलमा चिनियाँ शहरबाट सिधा उडानको वातावरण मिलाइदिन आग्रह गर्नुभयो।

उहाँले नेपाललाई चीन सरकारको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा छिटो सहभागी गराई केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो। केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग बनेको खण्डमा करोडौंको संख्यामा रहेका चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी आउन सहज हुने अध्यक्ष सापकोटाले बताउनुभयो।

नेपाल चीन मैत्री समाजका महासचिव मनिषकुमार जोशीले क्वाङतोङ प्रान्तका व्यवसायीलाई लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन चिनिया टोलीसँग आग्रह गर्नुभयो।