चीनसँगको व्यापारघाटा फराकिलो
2023-12-17 16:07:16CRI
Share with:

नेपालको उत्तरतर्फका दुई प्रमुख नाका सुचारु भएसँगै नेपालबाट चीनतर्फ निर्यात बढ्ने अपेक्षा गरिएको भए पनि अपेक्षाकृत परिणाम भने देखिएको छैन। चालु आर्थिक वर्षको चार महिनामा जम्मा ८३ करोड ५४ लाख रुपैयाँको निकासी भएको छ। यही अवधिमा चीनबाट नेपालतर्फ १ खर्ब २५ करोड रुपैयाँबराबरको वस्तु आयात भइसकेको कारोबार अनलाइनले लेखेको छ।

चार महिनामा निर्यातभन्दा आयात १२० गुणा बढी छ। भन्सार विभागको तथ्यांकअनुसार चार महिनामै नेपालले चीनसँग ९९ अर्ब ४१ करोड व्यापारघाटा व्यहोरिसकेको छ। नेपालबाट चीनतर्फको निकासी यस अवधिमा ३०७.९ प्रतिशतले बढेको देखिए पनि आयात ३४.४ प्रतिशतले मात्र बढ्दा व्यापारघाटा बढेको देखिएको छ। भारतसँग सबैभन्दा ठूलो व्यापारघाटा देखिए पनि निर्यात र आयातको अनुपात हेर्दा चीनसँग उच्च देखिन्छ।

भारतबाट ३ खर्ब १४ अर्बको आयात हुँदा निर्यात ३३ अर्ब ३२ लाख रुपैयाँको भएको छ। चार महिनामा भारतसँगको व्यापारबाट २ खर्ब ८१ अर्ब घाटा व्यहोरे पनि निर्यातभन्दा आयात ९.५१ गुणामात्र बढी छ। चीन नेपालको वैदेशिक व्यापारको दोस्रो साझेदार मुलुक हो। चीनतर्फ निकासी न्यून रहे पनि उच्च परिमाणमा आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ मुख्यतयाः पास्ता, चाउचाउ, ऊनी गलैंचा, ऊनी फेल्टका सामग्री, तामाका सामान, हस्तकला सामग्री, अगरबत्ती तथा जडिबुटी निकासी हुने गरेका छन्। गत चैत १८ अर्थात् अप्रिल १ बाट रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आएको थियो भने वैशाख १८ बाट तातोपानी र हिल्सा नाकासमेत सञ्चालनमा आएसँगै नेपालको निकासी व्यापारले गति लिने अपेक्षा गरिए पनि परिणाम सोचेजस्तो नदेखिएको व्यवसायीहरु बताउँछन्।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चिनियाँ बजारमा नेपाली व्यवसायीले अझै पनि पहिलेजस्तो सहज अवस्थाको महसुस गर्न नसकेका कारण निकासी बढ्न नसकेको बताउनुहुन्छ। कोभिडअघि चीनसँग व्यापार गर्न नेपालीलाई जति सहज थियो, त्यो अहिले नभएको उहाँको भनाइ छ। अर्कोतर्फ चीनसँगको व्यापारमा नेपालीले भोग्दै आएको भुक्तानीको समस्यालगायत पूर्वाधार र प्रशासनिक झमेलाजस्ता विषय समाधान हुन नसक्दा निकासी प्रभावित बनेको उहाँको भनाइ छ। ‘चीनले भन्सार छुट सुविधा दिएका वस्तु हामीले निकासी गर्नै सकेका छैनौं,’ श्रेष्ठ भन्नुहुन्छ, ‘हामीले उत्पादन गर्न सक्ने वस्तुमा चीनले भन्सार छुट दिँदैन, चीनले छुट दिएका वस्तु हामी उत्पादन गर्न सक्दैनौं। यस्तो अवस्थामा निकासी बढाउन सकिँदैन।’

प्रधानमन्त्री पुष्पकमल दाहालले गत असोजमा गर्नु भएको चीन भ्रमणबाट पनि नेपाल र चीनबीच रहेका व्यापारिक समस्या समाधान हुन नसकेको निजी क्षेत्र बताउँछ। नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर चीन र नेपालबीचको आर्थिक सम्बन्ध पुरानै भए पनि पछिल्ला दिनमा उत्पन्न समस्या समाधानमा दुवै पक्ष गम्भीर नदेखिएको बताउनुहुन्छ। ‘सीमा नाका खुल्नु सकारात्मक हो तर व्यापारलाई अघि बढाउन अन्य पक्षहरुमा पनि सहजता हुनुपर्छ र त्यसका लागि प्रभावकारी कूटनीतिक पहल आवश्यक छ,’ उहाँ भन्नुहुन्छ। स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा आउनु र तातोपानी नाकाबाट सिन्धुपाल्चोकका स्थानीयले खासा बजारसम्म जान पाउने व्यवस्थाले द्विपक्षीय आर्थिक तथा सामाजिक सम्बन्ध नवीकरण भए पनि व्यापारिक सम्बन्धमा अझै हार्दिकता देखिन नसकेको उहाँको भनाइ छ।

‘चीनसँग हाम्रो पुरानो दौत्य सम्बन्ध हो। हामीले नेपालमा चीनविरोधी कुनै गतिविधि हुन नदिने प्रतिवद्धता जनाउनुपर्छ र त्यसअनुसार काम पनि गर्न सक्यौं भने चीनसँगको आर्थिक सम्बन्ध बढाएर धेरै नै फाइदा लिन सक्छौं,’ अध्यक्ष तुलाधर भन्नुहुन्छ। निजी क्षेत्रका केही प्रतिनिधि भने नेपालमा पछिल्लो समय चिनियाँ लगानी बढ्न नसकेको तथा जलविद्युत लगायतका क्षेत्रमा चिनियाँ लगानीलाई भारतले शंकाको दृष्टिले हेर्न थालेका कारण समस्या रहेको बताउँछन्। यद्यपि, चीनसँग मिलेर नेपालमै केही उद्योग खोल्न सकिने र त्यसको उत्पादन चीनमा पठाई व्यापारघाटा नियन्त्रण गर्न सकिने विषयमा छलफल हुनुपर्ने उनीहरुको भनाइ छ।