नेपाल र चीनको व्यापारिक नाका तातोपानीबाट आयातमा वृद्धि
2023-12-17 16:02:50CRI
Share with:

नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका तातोपानीबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ। विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले वृद्धि भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

चालु आवको भदौयता चीनबाट उक्त नाका हुँदै आयातमा निरन्तर वृद्धि र सहज आपूर्ति हुन थालेपछि व्यापारी उत्साही हुन थालेका छन्। चार वर्षअघि तातोपानी नाका खुलाए पनि पूर्ण रूपमा सञ्चालनमा आएको थिएन तर चालु आवबाट आयातमा भारी वृद्धि हुन थालेपछि अहिले उक्त नाकामा चहलपहलमा पनि वृद्धि भएको छ। 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आव २०८०/८१ को पाँच महिनामा करिब चार अर्ब सात करोड रुपियाँ बराबर राजस्व उठेको जानकारी दिनुभयो। “यही टे«न्डमा राजस्व सङ्कलन हुने हो भने यस वर्ष आठ अर्ब ४२ करोड बढी राजस्व उठ्ने र राजस्वको लक्ष्य पूरा हुने देखिन्छ,” केसीले थप्नुभयो। आयातमा ८० प्रतिशत कृषिजन्य सामग्री छन्। 

ट्रान्स सिल्क टर्मिनल्स प्रालिका संयोजक विजय शेर्पाका अनुसार अहिले दैनिक उक्त नाकाबाट चार करोड बढीको फलफूल र अन्य सामान आयात हुन थालेको छ। 

२०७१ साउन १७ को जुरे पहिरो, २०७२ को भूकम्प, २०७३ साल र त्यसपछिका बर्खायामको बाढीपहिरोले कहिले पूर्ण र कहिले आंशिक बन्द भएको नाकाले कुनै पनि वर्ष लक्ष्य अनुसारको राजस्व उठाउन सकेको थिएन।